काठमाडौं । नेपाल आयल निगमले पेट्रोल–डिजेलको मूल्य बढाउनेबित्तिकै यातायात व्यवसायीहरू आन्दोलन गर्ने, पत्रकार सम्मेलन गर्ने, मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, अल्टिमेटम दिनेलगायतका कार्य गर्थे । एक लिटरमा एक रुपैयाँ मात्र बढायो भने पनि हंगामा मच्चिन्थ्यो । अल्टिमेटम दिएको समयावधिभित्र सरकारले भाडा नबढाएमा बन्द हडतालसमेत हुन्थ्यो ।
पछिल्लो केही समययता आयल निगमले इन्धनको भाउ निरन्तर घटाइरहेको छ । तर, भाडा घटाउन कोही पनि लागिपरेका छैनन् । यातायात व्यवसायी आफूलाई घाटा हुने कुरा किन गर्थे ? यातायात व्यवस्था विभाग र बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउन चासो देखाएको छैन । यसले सरकार पनि यातायात व्यवसायीको पक्षमा रहेको पुष्टि भएको छ ।
लामो रुटमा चल्ने सवारी होस् या छोटो रुटमा भाडा घटेको छैन् । ढुवानी गाडीको पनि भाडा घटाइएको छैन । जसकारण आमसर्वसाधारण मर्कामा परेका छन् । मालवाहक सवारीको भाडा नघट्दा सामान महँगो भएको छ ।
निजी प्लेटका सवारीसाधन चढ्न नसक्नेहरू सार्वजनिक सवारी चढ्छन् । आर्थिक कमजोर भएकाहरूको वाहक हो सार्वजनिक यातायात । सरकारले विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता र नाबालकलाई भाडा छुट दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था लामो रुट र छोटो रुट दुवैमा लागू हुन्छ ।
छुट दिएबापत यातायात व्यवसायीले कर छुट पाउँछन् । तर, यातायात व्यवसायी कर छुट लिन्छन्, तर लक्षित वर्गलाई दिँदैनन् । राज्यबाट हरेक वर्ष ४० प्रतिशत छुट लिने अनि तोकिएकालाई नदिने । राजधानीको बबरमहलदेखि बिजुलीबजारसम्म आधा किलोमिटर दूरी छ । हतार भएका र बिरामीलाई सार्वजनिक यातायात चढ्नुपर्छ । चढ्नेबित्तिकै २५ रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ तोकेको छ । आधा किलोमिटर यात्रा गर्दा दुई रुपैयाँ तिर्नुपर्ने हो ।
सार्वजनिक सवारीसाधन चढ्न पाउनु सर्वसाधारणको अधिकार हो । यद्यपि गाडी चढाएको भन्दै यात्रुलाई ठग्न पाइन्छ ? बालकुमारीबाट नयाँ बानेश्वर–अनामनगर–पुतलीसडक–नागपोखरी–गैरीधारा–टंगाल–भाटभटेनी–बालुवाटार–महाराजगञ्ज–चक्रपथ हुँदै नेपाल यातायात गापोकृष्ण हल जान्छ । त्यसको आउजाउको रुट यही हो ।
बालुवाटारमा प्रधानमन्त्री निवास छ । सिंहदरबारमा सबै मन्त्री बस्छन् । मीनभवनमा यातायात व्यवस्था विभाग छ । नेपाल यातायातमा चढ्ने यात्रुको उसै पनि चाप हुन्छ । सहचालकले गाडीमा गुन्द्रुक कोचेजसरी यात्रु कोच्ने गरेको छ ।
गाडीमा नक्कली सीट हालेको प्रस्टै देखिन्छ । ढोकासम्म यात्रु झुन्डाएर नेपाल यातायात दौडिरहेको हुन्छ । तर ट्राफिकले देखेर पनि अनदेखा गर्छ । आइतबार दिउँसोको कुरा हो, अनामनगरको घट्टेकुलो जाने टर्निङबाट हनुमानथान आएको एकजना वृद्धले २५ रुपैयाँ तिर्नुपर्यो । सहचालकले छिटो झर्नभन्दा ती वृद्ध लडे । तर, सहचालकले उनलाई उठाएनन्, बरु गाडीसँगै दौडिए ।
देशको राजधानीमा यातायातको अवस्था यस्तो छ । गाडी चढ्न ज्यान जोखिममा राखेर कुदाकुद गर्नुपर्छ । विडम्बना, सम्बन्धित निकायको ध्यान जाँदैन । पैसा तिरेर गाडी चढ्नु छ, तैपनि सहचालक–चालकको नराम्रो बोलीबचन र व्यवहार सहनुपर्छ । भाडा बढी लिएको, धेरै यात्रु खाँदेको गुनासो गरेमा सहचालकले खाउलाझैं गर्छन् । सहचालक र चालकजस्तै फोहोर हुन्छ गाडी ।
अहिले पनि सिन्डिकेट छ भन्ने प्रमाण खोज्न कतै जानुपर्दैन । बालकुमारीबाट चल्ने नेपाल यातायात नै हेरे हुन्छ । उक्त रुटमा नेपाल यातायातले मात्र यात्रु बोक्छ । गाडीको संख्या थपिएको छैन । एउटा नेपाल यातायात आउनुपर्छ, पचासौं जनाको लर्को लाग्छ ।
ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्थाको कहिल्यै अन्त्य नहुने भयो । ट्राफिक प्रहरीकै सामुन्नेबाट ढोकासम्म झुन्डाएर सार्वजनिक यातायात दौडिन्छन् । नेपाल यातायात मात्र होइन, अन्य रुटमा चल्ने सार्वजनिक यातायातको अवस्था पनि त्यही छ । गाडी गुडाउँदा ढोका बन्द गर्नुपर्ने प्रावधान छ । तर, यातायात व्यवसायीहरूले ढोकासम्म झुन्डाएर यात्रु खाँदेका हुन्छन् । खोइ त कारबाही ? सरकार अहिले पनि यातायात व्यवसायीको अगाडि लाचार छ भन्ने कुरा यहाँबाट स्पष्ट हुन्छ ।
सरकारले यातायात व्यवसायीसामु घुँडा टेक्दा आम सर्वसाधारण मर्कामा परेका छन्, उनीहरूले दुःख हैरानी खेप्नुपरेको छ । रत्नपार्क, सहिदगेटमा सडकभर यात्रु गाडी कुरेर बसेका हुन्छन् । गाडी कुर्दाकुर्दै खुट्टा दुखेपछि उनीहरू सडकमै थचक्क बस्छन् । रत्नपार्कजस्तो ठाउँमा बेलुका ५ बजेपछि भाडाको गाडी पाइँदैन । सार्वजनिक यातायातसमेत नपाउने ठाउँ राजधानी हुन्छ ? दिनभरि ठगेकाले यातायात व्यवसायीलाई पुगिहाल्छ । जसकारण साँझ नपर्दै गाडी थन्काइन्छ ।
यातायात व्यवस्था विभागले अनुगमनका लागि एउटा टोली गठन गरेको छ । गाडी पनि छ, कर्मचारी पनि छन् । तर, त्यो टोली अनुगमनमा निस्किँदैन, बरु लाइसेन्सको दलाल गरेर पैसा खान्छ । लाइसेन्स चाँडो मिलाइदिने, लिखित–ट्रायल फेल भएकाको लाइसेन्स निकालिदिनेलगायतको काम त्यो टोलीले गर्दै आएको छ । विभागका महानिर्देशक उद्धवराज रिजाललाई अहिलेसम्म कसैले सडकमा देखेका छैनन् । विभागकै अगाडि सिभिल अस्पताल छ ।
अस्पतालबाहिर पार्किङ गरेर बसेका ट्याक्सीहरूले दिनदहाडै यात्रु ठगिरहेको हुन्छ । बाटो हिँड्नेहरूले ट्याक्सी चालकले यात्रुसँग गरेको मोलमोलाइ स्पष्ट सुनिरहेका हुन्छन् । तर, उनले देख्दैनन् । कमिसनको पछाडि लागेकाले कसरी यात्रुको पीडा देख्नु ?
२०४९ सालदेखि ३२ वटा चिजमा सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने राजस्व बढेको छैन । यात्रुले तिर्नुपर्ने भाडा ३०औं गुणा बढ्यो । बालकुमारी घटनामा ज्यान गुमाएकालाई केन्द्र सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख दिने घोषणा गरेको छ । यातायात व्यवसायीले मान्छे मार्यो भने एक लाख दिएर उम्किन्छ । सरकारभन्दा ठूलो यातायात व्यवसायी छ भन्ने यसले पनि प्रस्ट पार्छ ।




