काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति एवं शेरबहादुर देउवासँग छलफल गरेका छन् । छलफलका लागि उनीहरु सोमबार बिहान बालुवाटार पुगेका थिए ।
पार्टी सभापतिसँग भेटमा थापा र शर्माले समसामयिक राजनीतिक घटनाक्रममाथि केन्द्रित रहेर छलफल भएको छ ।
पार्टी नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघसंस्था पूर्णता र अधिवेशनबारे आन्तरिक छलफल गरिएको महामन्त्री थापाको सचिवालयले जनाकारी दिएको छ ।
मंसिरमा १४औँ महाधिवेशन गरेपछि काँग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । काँग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थान छ ।
असार १० गतेभित्र अनुशासन समिति केन्द्रीय निर्वाचन समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र केन्द्रीय विभागहरु गठनका लागि उनीहरुले पनि सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।
भेटमा उनीहरूले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्न सुझाएको बताइएको छ । राष्ट्रिय सहमति जुटाएर एसपिपी सधैंका लागि बन्द गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । ‘साझा धारणा बनाएर एसपिपीलाई सधैंका लागि बन्द गरिदिनुस् सरकारका तर्फबाट पत्र पठाएर एसपिपीको विषय बन्द गरौं,’ उनीहरुको भनाइ थियो ।
महामन्त्रीद्वयले विदेशमा रहेका नेपालीले मत दिन पाउने व्यवस्थाबारे निर्वाचन आयोगसँग छलफल गर्न आग्रह गरेका थिए । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकोले जनतालाई राहत दिने कार्यक्रम सरकारले ल्याउनुपर्ने उनीहरुको माग थियो ।




