काठमाडौं । एकाएक मन्त्री फिर्ता बोलाउने निर्णयपछि उत्पन्न परिस्थितिले पार्टीभित्रको सन्तुलन मिलाउन माधवकुमार नेपाललाई निकै सकस परेको अवस्था छ । यतिबेला सन्तुलन मिलाउन सकिएन भने पार्टीभित्र चर्को विवाद हुने र कतिपयले सांसद त्यागेर एमाले वा माओवादी प्रवेश गर्ने सम्भावना रहेको छ । समाजवादीभित्रको विवादले चर्को रुप लिएमा आमचुनावमा असर गर्ने बुझाइमा पनि नेपाल देखिएका छन् ।
किनकि एमाले विभाजन भएर एकीकृत समाजवादी गठन हुने भेला चन्द्रागिरी हिल्समा भएको भेलाको खर्च आले समूहले तिरेको थियो । त्यसबेला ४३ लाख रुपैयाँ खर्च भएको र सबै आले र किसान श्रेष्ठले तिरेका थिए । त्यसैले आले समूह बिच्किएमा माधव नेपाललाई ठूलो राजनीतिक ड्यामेज हुने खतरा देखिएको छ ।
६ महिनाअघि सरकारमा सामेल हुने बेला एकीकृत समाजवादीले आधा आधा कार्यकाल मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार पाँचजना मन्त्री बनेका थिए । स्थानीय तहको निर्वाचनलगत्तै एकीकृत समाजवादीले पहिलेका मन्त्री हटाएर नयाँलाई बनाउन सिफारिस गरेपछि यो विषय अहिले विवादमा मात्र परेको छैन, माधवकुमार नेपालका लागि आत्मघाती हुने सम्भावना देखिएको छ ।
मन्त्रीबाट फिर्ता बोलाइएकामध्ये जनसंख्या मन्त्री विरोध खतिवडा र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले खुमलटार प्रयोग गरेपछि माधव नेपाललाई भाउन्न भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले वर्तमान स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्री, जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।
पार्टीको यो निर्णयपछि खतिवडा, झाँक्री, किसान श्रेष्ठ, प्रेमबहादुर आलेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासँग लबिङ गरेपछि आफ्नो निर्णयबाट तत्कालका लागि माधव नेपाल ब्याक भएका छन् । तर, यसको दीर्घकालीन घाटा भने एकीकृत समाजवादीले राम्रै बेहोर्नुपर्ने देखिएको छ ।
समाजवादीले सिफारिस गरेका मन्त्रीहरूले संसदमा बजेट छलफल भइरहेको र मन्त्रालयगत छलफल सकिएपछि नयाँ मन्त्रीहरूले सपथ लिने स्रोत बताउँछ । पर्यटनमन्त्री प्रेम आलेसँग एमाले छोडेर आएका ६ जना सांसदको एउटै समूह रहेको बताइन्छ । यो समूहलाई भड्काएर खतरा मोल्ने पक्षमा पनि माधव नेपाल थिएनन् । तर नचाहँदा नचाहँदै पनि आलेलाई फिर्ता बोलाएपछि अब उनीहरु भड्किने अवस्था सिर्जना भएको छ । उनीहरुको समूहको तर्क चाहिं आलेलाई निरन्तरता दिनुपर्ने रहेको थियो ।




