काठमाडौं । बिहीबार बिहान कांग्रेसका नेता डा.शेखर कोइराला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला र अमरेशकुमार सिंह खुमलटार पुगेका थिए।
भेटमा कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद्लाई बन्धक बनाउन नहुने लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
‘संसद्लाई बन्धक नबनाऊ, जे जे गर्ने हो संसद्बाटै छिनोफानो गरौँ’, कोइरालाले अध्यक्ष प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै थपलियाले भने, ‘जवाफमा प्रचण्डले गठबन्धनको कुरा गर्नुभयो।’
प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गरेका थिए । ‘वडा वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ’, प्रचण्डलाई कोइरालाले जवाफ दिए।




