देशका अधिकांश क्षेत्रमा वर्षा, तत्काल मौसम सुधार नहुने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मध्यम वर्षा भइरहेको जनाएको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार हाल कोशी प्रदेशको तराई र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा वर्षा भइरहेको छ ।
पश्चिमी क्षेत्रबाट नयाँ वर्षा प्रणाली विकास हुँदै गण्डकीतर्फ सर्दै आएको उनले जानकारी दिए । सो प्रणाली विस्तारै पूर्वतर्फ सर्दै जाँदा अन्य क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेको छ ।
काठमाडौँ उपत्यकामा चन्द्रागिरी, नयाँसडक, बबरमहल, नैकाप, गोदावरीलगायत क्षेत्रमा वर्षा भएको छ ।
मौसमविद् दाहालले तत्काल मौसम सुधार हुने सम्भावना नरहेको उल्लेख गर्दै पश्चिमी प्रणालीको प्रभाव अझै केही समय रहने बताए ।




