२०४६ सालपछि जन्मेको पूर्वपञ्चहरुको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले फेरि चर्चामा छ । पूर्वपञ्चहरु संगठित रुपमा एउटै पार्टीका रुपमा उदाउन विश्वास गरिएको थियो, तर त्यसबेलाका पञ्चायतका मठाधीशहरु लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले एउटै नाम तर पुच्छरमा आ–आफ्नो जात झुन्डियाएर दल दर्ता गराए ।
उद्देश्य समान भएको भन्दै यी दुई राजनीतिक दल जोडिने र फुट्ने समयक्रममा पटक पटक भयो । सत्तामा पुग्न जोडिने र नेतृत्व लिने बेलामा म अरुभन्दा योग्य भन्ने विवादले दल फुटेको इतिहास जगजाहेर छ । यो राजनीतिक दल फुट्ने र जोड्ने सिलसिला आजपर्यान्त जारी छ ।
पार्टी फुटाउने र जोड्ने क्रममा एकजना पात्र जो कहिले नायक र कहिले खलनायकका प्रस्तुत भइरहेका छन् । ती पात्र हुन्– कमल थापा । जो ताला फुटाउन हम्मर बोकेर पार्टी कार्यालय पुग्नेदेखि नेता कार्यकर्ताको धुलाइ गर्न भाडाका गुन्डानाइकको प्रयोग गर्नसमेत पछि पर्दैन थिए ।
कमल थापा पार्टी महाधिवेशनमा पराजित भएपछि नयाँ राजनीतिक दल दर्ताको प्रयासमा छन् । राप्रपा नामबाट वाक्क भएका थापाको नयाँ राजनीतिक दल दर्ता प्रकृया सम्भवतः यही साता टुंगिन्छ । उनी यही नयाँ राजनीतिक दलको अध्यक्ष पदमा विराजमान हुने छन् ।
महाधिवेशनमा पराजित भएपछि निर्मल निवासतिर धारे हात लगाएर सन्नीपातका विरामीझै बरबराइ रहेका थापाले यत्ति छिटै नयाँ पार्टी गठन गर्लान् भन्ने अनुमान थोरैले मात्र लगाएका थिए । सर्वसत्तावादी चिन्तन अर्थात् शासन गर्न म मात्र योग्य छु भन्ने मनोगत रोगबाट ओतप्रोत भएका थापाको यो कदमलाई स्वभाविक ठान्नेहरु पनि धेरै छन् ।
हिन्दू धर्म र राजालाई बोकेर राप्रपाले पुराना पुस्ताको मन जितेको थियो । अब हिन्दू धर्म र राजा बोक्नेहरु विभाजित भएका छन् । कमल थापाले राजा छोडेर हिन्दू धर्मको मात्र वकालत गर्ने छन् भने संस्थापनले राजालाई काँधमा हालेर हिड्नेछ ।
त्यसै पनि राष्ट्रिय पार्टी बन्न नसकेको राप्रपा फुटपछि के होला भन्ने चिन्ताले कार्यकर्तालाई पिरोलेको छ । यो विभाजनले राप्रपालाई काहिँ पनि पु¥याउँदै भन्ने सबैलाई थाहा छ । व्यक्तिगत ‘इगो’ शक्तिशाली बनेकाले राप्रपा खण्डिकरण भएको हो भन्ने कुरा पनि सबैलाई थाहा छ । यति ज्ञान हुँदाहुँदै पनि महाधिवेशनमा पराजित व्यक्तिको पछाडि लागेर पार्टीलाई खण्डहर बनाउन भूमिका खेल्नेहरुप्रति सहानुभूति प्रकट गर्न सकिन्छ, काँध थाप्न सकिँदैन भन्ने कार्यकर्ताको कार्यकर्ताको गुनासोलाई कसेले सम्बोधन गर्ला ?




