रिबन

प्रचण्डको सचिवालयले भन्यो– एमसीसी पारित गर्नैपर्ने दबाबका कारण पत्र पठाइएको हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब रहेका कारण एमसीसी मुख्यालयलाई पत्राचार गरेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रबारे भएको टिप्पणीमा ध्यानाकर्षण भएको भन्दै प्रचण्डको सचिवालयले प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव रहेको तथा राष्ट्रियहित तथा गठबन्धन र सरकारको लागि पत्र लेखिएको उल्लेख गरिएको छ ।

एमसीसी मुख्यालयलाई लेखिएको पत्रबारे राजनीतिक वृत्त तथा जनस्तरबाट भएका टिप्पणी उचित नभएको समेत प्रचण्डको सचिवालयले जनाएको छ ।

MCC लाई लेखेको पत्रबारे प्रस्टीकरण:

२९ सेप्टेम्बर २०२१ मा MCC मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि MCC पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो।

र, पत्रमा MCC का लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आबस्यक पर्ने कुरा उल्लेख गरिएको हो। देशमा एकातिर MCC बारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म बिरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले MCC बारे गठन गरेको कार्यदलले पनि यसलाई “परिमार्जन बिना पारित गर्न नसकिने” निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन।

यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन। हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं। यो परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा हाम्रो पार्टी दृढ छ। यसबारे गरिएका नियोजित प्रचारवाजिको भ्रममा नपर्न सम्पुर्ण पार्टीपङ्ती र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौं।

– अध्यक्ष कमरेड प्रचण्डको सचिवालय

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *