काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन् ।
आइतबार बिहान बुढानिलकण्ठस्थित निवासमा आयोजित एक कार्यक्रममा देउवाले नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए ।
‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन् । ओली र प्रचण्डबीच द्वन्द्व देखिएको छ । तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन ? यसमा शंका छ । ओली अहिले पनि सुविधाजनक बहुमतमै छन् । अल्पमतमा छैनन् । माओवादीले अविश्वासको प्रस्ताव लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ,’ साहित्यकार श्रीराम श्रेष्ठको ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक पुस्तक विमोचन कार्यक्रममा देउवाले भने । श्रेष्ठको यो २०औं कृति हो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले श्रेष्ठद्वारा लिखित नेपाली जनजातिय संस्कार र संस्कृति पुस्तक उच्च कोटी भएको भन्दै प्रशंसा गरे ।
पुस्तक समिक्षा गर्दै लेखक एवं वरिष्ठ साहित्यकार पुस्कर लोहनीले श्रेष्ठको पुस्तक मानवशास्त्रीय दृष्टिले पनि महत्वपूर्ण भएको धारणा राखेका थिए ।
सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङ, प्रदेश सांसद कल्पना नेपालीलगायत उपस्थित थिए ।




