काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भारत भ्रमण पूरा गरी शनिबार स्वदेश फर्केका छन् । उनी माघ १ गते नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका थिए । दिल्ली प्रस्थान गर्नुअघि नै मन्त्री ज्ञवालीको अनुहार मलिन थियो । स्वदेश फर्किने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पनि ज्ञवालीको मुहार मलिन थियो ।
भारत जानुअघिसम्म ज्ञवाली ठूल्ठूला स्वरमा नेपालले भारतसँग सीमा विवादबारे कुरा राख्ने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाउने बताउँदै आएका थिए । तर, भारत पुगेपछि मन्त्री ज्ञवालीको बोली नै मधुरो भयो ।
उनले आफ्ना समकक्षी एस जयशंकरसँग भेटवार्ता गरे । फर्किने बेला रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरे । तर, सिंहसँग भेट्दा मन्त्री ज्ञवालीले नेपालको प्रतिनिधित्व गरेर गएको जस्तो देखिएन । मन्त्री सिंहको कार्यकक्षमा पुग्दा उनी नेपालको झण्डाविहीन अवस्थामा थिए ।
भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता र संयुक्त आयोगको बैठकपछि मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने अथक प्रयास गरेका थिए । तर, मोदीले समय दिएनन् । आफ्नो देशका विदेशमन्त्रीले निमन्त्रणा गरेर बोलाएपछि मोदीले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्नुपर्ने हो । तर, उनले भेट्न चाहेनन् । जबकि मोदी अहिले भारतमा फुर्सदमै छन् ।
हाम्रो देशका प्रधानमन्त्री केपी ओलीलाई बालुवाटार नै पुगेर भारतीय पत्रकारले भेट्छन् । अन्तर्वार्ता लिन्छन् । गुप्तचर प्रमुख आएर मध्यराति प्रधानमन्त्रीलाई भेट्छन् । सामान्य भारतीय कर्मचारी र नेताले भेट गर्छन् । तर, भारतकै विदेशमन्त्रीको निमन्त्रणामा औपचारिक भ्रमणमा गएका नेपालका मन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीले भेट नदिनुलाई अर्थपूर्ण मानिएको छ ।
बहुमतको संसद् भंग गरेपछि प्रधानमन्त्री केपी ओली कामचलाउ हैसियतका भइसकेका छन् । उनका क्याबिनेटका मन्त्रीहरु पनि सोही हैसियतका छन् । त्यसमा पनि ओलीप्रति भारतीय संस्थापन अझै असन्तुष्ट रहेको ज्ञवाली रित्तो हात फर्केकाले पनि पुष्टि गर्छ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई कुबेलाको भ्रमण भनी टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘विदेशमन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’, ‘छळफल भएको’, ‘विचारको आदानप्रदान भएको’, ‘गति दिने सहमति भएको’, ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ । देशको जटील भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ ।’
यस्तै नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले मन्त्री ज्ञवालीको भारत भ्रमणप्रति तिखो टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘भारतीय विदेश सचिव नेपाल आउँदा हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीदेखि विपक्षी नेतासम्मलाई भेटेर फर्किनुभएको थियो । हाम्रा परराष्ट्रमन्त्री भारत जाँदा चाहिँ भारतीय प्रधानमन्त्रीलाई पनि नभेटेर फर्किनुभएछ । लोकलाजका लागि पनि सार्वजनिक मर्यादा कायम गर्न सकेको भए ।’




