रिबन

प्रधानमन्त्री ओलीको ‘कू’ र ‘थु’ को चर्चा

काठमाडौं । यतिबेला नेपाली राजनीतिमा प्रतिनिधिसभा गर्ने प्रधानमन्त्री केपी ओलीको ‘संविधानमाथि कू’ र आइतरबार राष्ट्रिय सभामा सम्बोधनका क्रममा गरेको ‘थुक’ को चर्चा व्यापक भइरहेको छ । ओलीले आफूलाई तानाशाहको शैलीमा प्रतिनिधिसभा विघटन गर्दै अब अदालतले ‘प्रतिनिधिसभा पुनःस्थापना गर्न सक्दैन’ भन्दै सबैलाई धम्क्याइरहेका छन् ।

प्रधानमन्त्री ओलीले अहिले गरेको जुन निर्णय छ, त्यो ज्ञानेन्द्र शाहले लोकतन्त्रलाई गरेको कू कै निरन्तरता भएको धेरैको निष्कर्ष छ । जसमा पूर्वन्यायाधीश, कानुन व्यवसायी, सञ्चार जगत तथा देशका बहुसंख्यक जनता असंवैधानिक कदम भन्ने निष्कर्षमा पुगेका छन् । तर, ओलीलाई आफूले गरेको निर्णय एकदम सही, संविधानसम्मत जस्तो लागेको छ । यसले ओलीमा अझै पनि दम्भ निकै बढी देखिन्छ ।

कम्तीमा आफ्ना आसेपासेबाहेक विरोधीका कुरा पनि ओलीले सुन्नुपर्ने हो । तर, उनी त्यो सुन्न तयार छैनन् । उनी वैशाखमै चुनाव हुन्छ भनेर भाषण गरिरहेका छन् । तर, नेकपाको आधिकारिकता विषयमा निर्वाचन आयोगमा मुद्दा परेकाले त्यसको निरुपण नभई चुनाव हुने सम्भावना नभएको सबैको ठहर छ । सोमबार दिउँसो नेकपा (प्रचण्ड–माधव नेपाल समूह) निर्वाचन आयोग गएर आमनिर्वाचनको काम अघि नबढाउन आग्रह गर्दैछ । यदि आयोगले तत्काल काम रोक्यो भने ओलीलाई ठूलो धक्का लाग्नेछ ।

ओलीको अर्को काण्ड ‘थु’ को अहिले सामाजिक सञ्जालका साथै युट्युब र टिकटकमा पनि ज्यादै उडाउन थालिएको छ । देशकै कार्यकारी प्रमुखले राष्ट्रिय सभामा सम्बोधनका क्रममा थुक्नु सरमको विषय भएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ । ओली निकट कार्यकर्ताले भने त्यसको बचाउ गरिरहेका छन् । तर, सामाजिक सञ्जाल प्रयोगकर्ता दिनेशराज ज्ञवाली लेख्छन्, ‘प्रतिनिधिसभामा कु, राष्ट्रिय सभा मा थू, निर्बाचनमा सू रे ।’

पूर्वसभामुख दमननाथ ढुंगाना लेख्छन्, ‘प्रतिनिधिसभाले प्रमलाई असहयोग गरेको प्रमाण छैन। प्रधानमन्त्रीको सिफारिस संविधानसम्मत नभएको न राष्ट्रपतिकहाँ हेरियो, न दलका नेतासँग नै परामर्श गरियो। राष्ट्रिय सभा सदस्यलाई पनि असहाय बनाइ नाटकीय ढंगले स्थगनअघि प्रमले पुनर्स्थापना नहुने आशय प्रकट गर्नुभयो। भविष्यका संकेत के हुन् ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *