रिबन

निर्मला पन्त हत्या बलात्कार काण्डमा बर्खास्त भएका एसपी विष्टको पुनर्वहाली

काठमाडौं । सरकारले एसपी डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) विष्ट बर्खास्तमा परेका थिए । प्रहरी प्रधान कार्यालयको पत्रअनुसार गृह मन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो ।

बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए । पन्तको बलात्कारपश्चात् हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनीहरुलाई प्रहरी सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए ।

गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाएको थियो । आफूहरुलाई अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए । हटाएको ३५ दिनभित्र पुनर्वहालीका लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधानअनुसार दुवैले निवेदन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *