मस्को। इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक प्रयास अनिश्चित बन्दै जाँदा इरानका विदेशमन्त्री अब्बास अराघची सोमबार रुस आइपुग्नुभएको छ । क्षेत्रीय वार्ताहरू विफल बन्दै गएको र मध्यस्थताका प्रयासहरू दबाबमा परिरहेका बेला उहाँको यो भ्रमणलाई अत्यन्त अर्थपूर्ण रूपमा हेरिएको छ ।
इरानी विदेश मन्त्रालयका अनुसार अराघची सेन्ट पिटर्सबर्ग पुग्नुभएको छ । त्यहाँ उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तेहरान र वासिङ्टनबीच प्रत्यक्ष संवाद ठप्पजस्तै अवस्थामा पुगेका बेला मस्कोमार्फत सम्भावित सहमतिको बाटो खोज्ने प्रयास तीव्र बनाइएको सङ्केत यसले दिएको छ ।
अराघचीले यसअघि ओमान र पाकिस्तानको भ्रमण गर्दै मध्यस्थकर्ताहरूसँग परामर्श गर्नुभएको थियो । इस्लामाबादमा हुने अपेक्षा गरिएको दोस्रो चरणको वार्ता भने अन्तिम समयमा आएर रोकिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुसनरको पाकिस्तान भ्रमण रद्द गरेपछि वार्ताको गति एकाएक अवरुद्ध भएको हो ।
यद्यपि संवाद पूर्ण रूपमा बन्द नभएको सङ्केतहरू देखिएका छन् । इरानले पाकिस्तानमार्फत अमेरिकी पक्षलाई लिखित सन्देश पठाउँदै आणविक मुद्दा र हर्मुज जलघाँटी जस्ता संवेदनशील विषयमा आफ्ना ‘लक्ष्मण रेखा’ स्पष्ट पारेको बताइएको छ । यी सन्देश औपचारिक वार्ताको हिस्सा नभए पनि सम्पर्क कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।
अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार इरानले युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्ताव पनि अघि सारेको छ, यद्यपि त्यसलाई आणविक वार्तापछिको चरणसँग जोडिएको बताइएको छ । इरानी सरकारी समाचार एजेन्सीले उक्त रिपोर्ट अस्वीकार नगरी उल्लेख गरेको छ ।
हाल इरानसँगको अमेरिका–इजरायल द्वन्द्वमा औपचारिक युद्धविराम भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिएको छ । इरानले हर्मुज जलघाँटी बन्द गरेपछि तेल, ग्यास र मलको आपूर्ति अवरुद्ध भएको छ, जसका कारण मूल्यवृद्धि भई विशेषतः विकासशील देशहरूमा खाद्य असुरक्षाको चिन्ता बढेको छ । यसैबीच अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ ।
इस्लामाबाद वार्ता रद्द भएपछि उत्पन्न परिस्थितिबारे प्रतिक्रिया दिँदै ट्रम्पले वार्ता बन्द नभएको स्पष्ट पार्नुभयो । उहाँले इरान वार्ताका लागि इच्छुक भए अमेरिकासँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने बताउनुभयो । नोभेम्बरमा हुने मध्यावधि चुनाव नजिकिँदै जाँदा बढ्दो इन्धन मूल्यका कारण ट्रम्पमाथि घरेलु दबाब पनि बढ्दै गएको छ र सर्वेक्षणहरूले युद्धप्रति अमेरिकी जनमत नकारात्मक रहेको देखाएका छन् ।
शनिबार अराघचीले ओमान भ्रमणका क्रममा सुरक्षित पारवहन सुनिश्चित गर्ने विषयमा छलफल गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमार्फत हर्मुजमार्फत सुरक्षित आवतजावत सबै देशहरूको हितमा रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रहरूलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
तर इरानको रिभोलुसनरी गार्ड्सले भने जलघाँटीमा लगाइएको नाकाबन्दी हटाउने कुनै सङ्केत दिएको छैन । उनीहरूले यसलाई आफ्नो रणनीतिक दबाबको महत्त्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गरेका छन्, जसले क्षेत्रीय शक्ति सन्तुलनमा प्रभाव पारिरहेको छ ।
यसैबीच मध्यपूर्वको अर्को मोर्चामा पनि तनाव चर्किएको छ । इजरायल र हिजबुल्लाहबीच लेबनानमा युद्धविराम उल्लङ्घनको आरोप–प्रत्यारोप जारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनाले इरान समर्थित समूहहरूलाई लक्षित कारबाही जारी राखेको बताउनुभएको छ ।
हिजबुल्लाहले भने इजरायलको निरन्तर आक्रमण र कब्जाको प्रतिकार गरेको दाबी गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी क्षेत्रमा भएको इजरायली आक्रमणमा दुई महिला र दुई बालबालिकासहित १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । केफर टिबनिट र जव्तार अल–शार्किया क्षेत्रमा आक्रमण हुँदा संरचनागत क्षति पनि भएको जनाइएको छ ।
इजरायलले आफ्नो एक सैनिक मारिएको पुष्टि गर्दै सम्भावित र भइरहेका खतराविरुद्ध अग्रिम कारबाही गर्ने नीति दोहोर्याएको छ । नेतान्याहुले तत्काल देखिएका मात्र होइन, उदीयमान खतराहरूलाई समेत निष्क्रिय पार्ने स्वतन्त्रता आफ्नो सेनासँग रहेको स्पष्ट पार्नुभएको छ ।




