काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौ नेतृत्वको टोलीले बिहान साढे १० बजे देउवालाई उनकै निवास बुढानिलकण्ठमा भेट्ने भएको हो।
भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसी हित सम्बन्धमा छलफल हुने बताइएको छ। संसद् विघटनपछिको अवस्थाबारेमा पनि कुराकानी हुने बुझिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपां) विभाजित भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष दूतका रूपमा नेपाल आएको कुओ नेतृत्वको टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटिसकेको छ।
सोमबार दिनभर चिनियाँ टोली नेपालका नेताहरू भेट्न व्यस्त रह्यो । बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालका साथै जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटवार्ता भएको थियो । चिनियाँ टोली बुधबार अपराह्न मात्र स्वदेश फर्किने बताइएको छ ।




