देश

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्बासी/भूमिहीनको ‘स्क्रिनिङ’ भइरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुम्बासी परिवारको लगत सङ्कलन गरिरहेका छन्।

अपराह्न १ः३० बजेसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको उनले बताइन्।

“वास्तविक सुकुम्बासीको परिवार सङ्ख्या, घरमूलीको नामलगायत विवरण सङ्कलन गरिरहेका छौँ। त्यसपछि तत्कालका लागि तोकिएको ‘सेल्टर’मा पठाउँछौँ‚” केसीले भनिन्, “सेल्टरमा उहाँहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ।” अस्थायी बसोबासस्थलमा उनीहरूको व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गरिने केसीको भनाइ छ।

थापाथलीमा अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रङ्गशाला ल्याइएको हो। अहिले पनि सुकुम्बासीहरू आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रङ्गशाला आउने क्रम जारी छ।

“वास्तविक सुकुम्बासीहरू यहाँ आउनुभएको छ, अन्य आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ‚” केसीले भनिन्, “केही परिवार यहाँ आएर पनि सरकारले तोेकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ।” उनका अनुसार रङ्शालाभित्रै सुकुम्बासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ।

सुकुम्बासी परिवारलाई सुरक्षित बसोबासस्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए।

यसैबीच थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने काम सम्पन्न भएको छ। त्यहाँ अवैध रूपमा निर्माण गरिएको संरचना डोजर लगाएर हटाइएको छ। केही सुकुम्बासी परिवार आफ्नो सरसामानलाई सुरक्षित रूपमा अन्यत्र लैजान खटिइरहेका छन्।

सुरक्षाकर्मीलगायतको टोलीले अहिले सिनामंगल-गैरीगाउँ क्षेत्रमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ। यो क्षेत्रमा रहेका सुकुम्बासी/भूमिहीन परिवारले पनि सरकारको निर्देशन पालना गर्दै आफ्ना घरटहरा भत्काएर सरसामन सुरक्षित स्थानमा लगिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *