काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं ओर्लियो । कोरोना त्रासका कारण पिपिई लगाएर आएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सुरक्षाकर्मीसमेत लिन अस्वीकार गरेको छ । जुन विषयलाई लिएर अहिले व्यापक आलोचना भएको छ ।
नेपालको भ्रमणमा आएपछि उनीहरूको सुरक्षा गर्ने दायित्व नेपालको हो । तर, उनीहरूलाई के स्वतन्त्र विचरणको हक चाहिएको हो ? कल्पना गरौं, नेपालका कुनै सहायकमन्त्रीले वा मन्त्रीले नै पनि बेइजिङमा त्यसो गर्न पाउँथे ? कोसिससम्म गरेको भए के हुन्थ्यो ? चिनियाँ अधिकारीको निगरानी बेगर चकलेट किन्नसम्म निस्केको भए पनि तत्काल डिपोर्ट गरिन्थ्यो । उपमन्त्री गुओको यो रवैयाले के नेपाल चीनको अंग हो ? भन्ने शंका उत्पन्न भएको छ ।
भारतीय गुतचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी ओलीलाई दुई घण्टा भेट्दा निक्कै कोलाहल मच्चियो । प्रधानमन्त्रीले नेपालको सार्वभौम स्वतन्त्रतामा खतरनाक सम्झौता गरेको शंका व्यक्त गरियो । अहिले नेकपाभित्र उत्पन्न दरार पनि त्यसकै परिणाम हो ।
पञ्चशील सिद्धान्तमा आधारित नेपालको परराष्ट्र नीतिको धज्जी उडाउँदै चिनियाँ कूटनीतिज्ञद्वारा भइरहेको आन्तरिक हस्तक्षेप खेदजनक छ।




