कला, गला र सौन्दर्यले भरिपूर्ण उदीयमान लोकदोहोरी गायिका हुन् शान्तिश्री परियार । रोल्पाको दुर्गम गाउँमा जन्मिएकी परियार सांगीतिक फाँटमा झांगिन ताल, सुर, शब्द, लय र स्वरलाई निरन्तर साधना आवश्यक ठान्दछिन् । दोहोरी गायनमा अब्बल उनी टिपिकल शब्द चयन र तत्काल सवालको जवाफमा ख्याल राख्छिन् । उनै परियारसँग संकल्प खबरका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
शान्तिजी सधैं फिटफाट चिटिक्क देखिनुहुन्छ के रहस्य छ ?
सकारात्मक सोच र आत्मसन्तुष्टिले नै मान्छेलाई स्वास्थ्य र हसमुख बनाउँछ । म जुनसुकै काम गर्दा पनि सकारात्मक सोच र भावनाले गर्छु । त्यो नै आकर्षणको कडी हो ।
तपाईंको जन्म, पढाइलेखा कहाँ हो ?
म रोल्पा जिल्लाको विकट गाउँमा सामान्य परिवार जन्मिएकी हुँ । पढाइ चाहिँ रोल्पा बजारमा भएको हो । त्यसपछि संगीत क्षेत्रमा आफ्नो करियर बनाउन काठमाडौं आएकी हुँ ।
काठमाडौं आएर संगीत कहाँ सिक्नुभयो ?
गान्धर्ब संगीत पाठशाला असनमा सिकेकी हुँ । मलाई संगीत सिकाउने आदरणीय गुरु हुनुहुन्छ चन्दन् श्रेष्ठ ।
गायन क्षेत्रलाई व्यवसायिक दिनथाल्नुभएको कति भयो ?
मैले गाउन त धेरै पहिलादेखि थालेकी हुँ । २०६८ सालबाट औपचारिक ढंगले गाउन थालेकी हुँ । त्यसलाई व्यवसायिकता दिन थालेका चाहीं २०७० सालतिरबाट हो ।

गायनलाई व्यवसायिकता दिँदा दोहोरी साँझमा गाउँनुभयो ?
मैले दोहोरी साँझबाट आफ्नो करियर सुरु गरेकी हुँ ।
कतिवटा दोहोरी साँझमा गाउनुभयो ?
मैले धेरैमा गाएँ । नगरकोट दोहोरी साँझबाट रात्रीकालीन गायन यात्रालाई अन्त्य गरेँ । मेरो संघर्षका दिन दोहोरी साँझबाट सुरु भए । त्यसैले दोहोरी साँझलाई धेरै सम्मान गर्छु । मलाई काठमाडौंमा टिक्नको लागि पनि त्यहीबाट टेवा मिलेको हो । जहाँ छु, त्यहाँ ल्याइपु¥याउने पनि दोहोरी साँझनै हो । त्यसकारण दोहोरी साँझ मेरो संगीत पाठशाला हो ।
दोहोरी साँझमा गाउनेलाई नराम्रो नजरले हेरिन्छ भन्छन् हो ?
राम्रो, नराम्रो भन्ने कुरा आफूमा पनि भर पर्छ । मान्छेको हेर्ने दृष्टिकोण त डाक्टर, नर्स, बैंकमा काम गर्ने छोरीलाई घरबाट बाहिर पठाउनुहुन्छ भने पनि त्यस्तै हुन्छ । एउटा तरुनी केटी बाटो निस्किँदा वाहा. भनेर जिब्रो पड्काउनेको कमी नै हुँदैन नि नर्स हुन् कि डाक्टर हुन्, हुन्छ र ? अनि दोहोरी साँझ भनेको त रात्रीकालीन व्यवसाय हो । जाँड खाएका मान्छेहरु नचाउनुपर्छ । त्यहाँ उनीहरुले कुन नजरले हेर्छन् भन्दा पनि आफ्नो पेशाप्रति दत्तचित्त भएर लाग्ने हो ।
पेशा जे भए पनि सकारात्मक रुपले लिनुपर्छ हो ?
हो, यो पनि एउटा पेशा हो । यसमा पनि दुःख छ । उसले यो कामबाट आफ्नो परिवार र समाजलाई केही दिएको छ भनेर सकारात्मक सोचले कहिल्यै हेर्दैनन् । रात्रीकालीन व्यवसाय भन्ने बित्तिकै छड्के नजरले हेर्ने गरिन्छ । डाक्टर, नर्सको पनि रात्रीकालीन काम हुन्छ नि । अनि दोहोरी साँझमा गाउनेलाई चाही किन नाक खुम्च्याउने ? हामी पेशालाई सम्मान गर्न नजानेर पछि परिराखेका छौं । ‘आफू भलो त जगतै भलो’ भनेजस्तै जुनसुकै कामलाई सकारात्मक रुपले सोच्नुप¥यो । त्यसैले मान्छेको हेर्ने नजर नराम्रो हो । दोहोरी साँझ नराम्रो होइन ।
स्वर धेरै राम्रो अहिलेसम्म कति गीत गाउनुभयो ?
मैले हजारभन्दा माथि गीत गाइसकेकी छु ।
यीमध्ये आफ्नै गीत कतिवटा छन् ?
तीजको र नर्मल गरी एक दर्जन जति आफ्नै शब्द र लयका गीतहरु छन् ।
संघर्षको बेलामा कोसँग गाएको गीतबाट चर्चामा आउनुभयो ?
कुलेन्द्र विक दाइसँग गाएको ‘एकतर्फी माया’ बोलको गीतबाट चर्चा शिखर चुम्न सफल भएकी हुँ । त्यो गीतको लय शब्द शिव हामालको थियो । यहीं गीतले मलाई दर्शक, स्रोता, दर्शकमाँझ शान्तिश्री परियार भनेर चिनाएको हो ।
‘बोल माया..र गलबन्दी’ गाउँदा भाबुक हुनुभयो, पछि हेर्दा कस्तो लाग्यो ?
राम्रो लाग्छ नि । आफूले गायको गीत, आफूले गरेको कामहरु त्यसमाथि धेरै दर्शक, स्रोतहरुले उचाइमा राखेर रुचाइदिँदा एदमै खुसी लाग्यो । गाउँदा गीतको बोल र शब्दसँग डुब्दा भाबुक भइयो पछि हेर्दा आनन्द आयो ।
विदेश कत्तिको घुम्नुभयो ?
अहिलेसम्म देशको संख्या १५–१६ वटा भए । ती देशमा दोहोरिएर धेरै पटक गएँ ।
विदेशका स्टेज प्रोग्राममा कत्तिको प्रशंसा पाउनुभयो ?
उहाँहरुले बोलाउनुहुन्छ । हामीहरु यहाँबाट गइसकेपछि निकै एक्साइटेड हुनुहुन्छ एकदमै रमाइलो हुन्छ ।
तपाईं गीत पनि लेख्नुहुन्छ ?
लेख्छु । जस्तो मेक्सम खाती र मैले गाएको ‘हाँसी–हाँसी बोल मायाले’ बोलको गीत म आफैले लेखेकी हुँ ।
त्यसको एक ढुक्का भन्नुस न ?
केटा : हे.हे.सातु खान्थे तिम्रा बाउ जुंगाले, तिम्रा बाउ जुँगाले..
जहाँ भेट्यो त्यहीं हान्थे यार ढुंगाले, हान्थे यार ढंगाले
मैसँग मन खोल मायाले, मरिलानु केछर जीवनमा ‘हाँसी–हाँसी बोल मायाले’..।
केटी : हे.हे..मेरा बाले केही सजाय देनन् है, केही सजाय देनन् है,
तिम्री आमा जस्तो चाहीं थेनन् है,
मैसँग मन खोल मायाले, मरिलानु केछर जीवनमा ‘हाँसी–हाँसी बोल मायाले’
अहिलेसम्म कति गीत लेख्नुभयो ?
मैले धेरै गीत लेखेकी छु । सबै सार्वजनिक भएकमो छैन । ‘हाँसी–हाँसी बोल मायाले’ पछि एउटा तीज ‘छोरी’ भन्ने परारको तीजमा सार्वजनिक गरेँ । अहिलेसम्म मेरो आफ्नै लय, शब्दले सिंगारिएका दुईवटा गीत सार्वजनिक छन् । त्यसमा ‘हाँसी–हाँसी बोल मायाले’ अत्याधिक दर्शक, स्रोताले रुचाइदिनुभयो । अब छिट्टै अर्को गीत आउँदैछ । त्यसको बोल चाहिँ अहिले नै नखोलौं ।
पापरिवारिक सहयोग कत्तिको छ ?
जन्म र कर्म दुवै परिवारबाट मलाई राम्रो सल्लाह, सुझाव, साथ र सहयोग मिलेको छ । यो क्षेत्रमा लागेको देखेर नै हाम्रो विवाह भएको हो । पारिवारिक सहयोग भएन भने मान्छेले केही गर्न सक्दैन ।
सेलीब्रेटीलाई सार्वजनिक ठाउँमा हिंडडुल गर्न कत्तिको अप्ठ्यारो हुन्छ ?
त्यस्तो अप्ठ्यारो हुँदैन । धेरैले चिन्नुभएको हुन्छ । कसैले टाढैबाट हेर्नुहुन्छ । कसैले बोलेर एउटा सेल्फी लिउँ न भन्नुहुन्छ । सबैले राम्रो मान्नुहुन्छ रमाइलो लाग्छ । त्यो नाम र कर्मको फल हो । यसमा मलाई गौरब लाग्छ ।
कुनै कार्यक्रमहरुमा केटाहरुले जिस्क्याएर हैरान पारेको घटनाहरु छन् ?
त्यस्ता त धेरै हुन्छन् । बाटोमा हिंड्दा पनि कत्तिले चिनेर शान्तिश्री भनेर बोलाउँछन् । कोही बोल्न नसकेर हिडेका हुन्छन् । शान्तिश्री लौन गलबन्दी ल्याउ न लगाउँ भन्नेहरु पनि भेटिन्छन् । तर, हामीले त्यसलाई मायाकै रुपमा सम्झन्छौं ।




