देश

उद्योगी–बैंकर पक्राउप्रति महासंघको आपत्ति, लगानी वातावरणमा नकारात्मक असर

काठमाडौं । पछिल्लो समय आर्थिक अपराधसम्बन्धी अनुसन्धानका नाममा उद्योगी, निर्माण व्यवसायी तथा बैंकिङ क्षेत्रका उच्च अधिकारीहरूलाई गरिएको पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा यस्तो कदमले निजी क्षेत्रको मनोबल कमजोर हुनुका साथै समग्र लगानी वातावरणमा नकारात्मक प्रभाव परेको जनाएको छ।

महासंघका अनुसार अर्थतन्त्रको मेरुदण्ड मानिने निजी क्षेत्रका नेतृत्वकर्तालाई फौजदारी शैलीमा पक्राउ गर्दा देशभित्र र बाहिरका लगानीकर्तामा गलत सन्देश गएको छ। विशेषगरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको पक्राउले वित्तीय संस्थाको साखमा असर पर्ने र कर्जा प्रवाहमा समेत संकुचन आउन सक्ने चेतावनी दिइएको छ।

संस्थाले प्रारम्भिक अनुसन्धान नगरी पक्राउ गर्ने र सार्वजनिक रूपमा ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्तिले व्यक्तिको प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने उल्लेख गरेको छ। देवानी प्रकृतिका विवादहरूलाई पनि फौजदारी प्रक्रियामा लैजाने प्रवृत्ति उचित नभएको महासंघको धारणा छ।

संविधानले प्रत्याभूत गरेको ‘कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने’ सिद्धान्तको स्मरण गराउँदै महासंघले अनुसन्धानलाई गोप्य र प्रमाणमा आधारित बनाउन सरकारसँग आग्रह गरेको छ।

महासंघले पछिल्लो केही वर्षदेखि सुस्त रहेको अर्थतन्त्र पुनः चलायमान हुने अपेक्षा राखिएको अवस्थामा यस्ता घटनाले लगानीकर्तामा असुरक्षा बढाउने र व्यावसायिक आत्मविश्वास कमजोर बनाउने चेतावनीसमेत दिएको छ।  महासंघले लगानीमैत्री वातावरण सुनिश्चित गर्न तथा निजी क्षेत्रको मनोबल उच्च राख्न सरकारलाई आवश्यक कदम चाल्न विशेष आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *