काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने नित्य, नैमित्तिक तथा काम्य कर्मका विधिलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी मोबाइल एपमा समेटिएको छ ।
धर्म तथा संस्कृतिको संरक्षण र कर्मकाण्डलाई सहज बनाउने उद्देश्यले वैदिक अनुसन्धान गुठी (वाग्) ले यस्तो एप सार्वजनिक गरेको हो । एपमार्फत विभिन्न कर्मकाण्डका विधि, पूजा सामग्री, सङ्कल्प, मुहूर्त, पञ्चाङ्ग तथा धर्मशास्त्रसम्बन्धी जानकारी मोबाइलमै हेर्न सकिने व्यवस्था गरिएको छ ।
वाग्का अध्यक्ष डा. स्वामी केशवानन्द गिरिको नेतृत्वमा ४० जनाको टोलीले दुई वर्षसम्म गरेको अध्ययन तथा तयारीपछि एप विकास गरिएको हो । दाताबाट प्राप्त करिब ७० लाख रुपैयाँको सहयोगमा एप निर्माण गरिएको गुठीले जनाएको छ ।
डा. गिरिका अनुसार विश्वमै पहिलोपटक मोबाइल एपमार्फत यस किसिमको कर्मकाण्ड सेवा उपलब्ध गराइएको हो । शुक्ल यजुर्वेद, माध्यन्दिनीय शाखाका सूत्र तथा धर्मसिन्धु, निर्णयसिन्धु, याज्ञवल्क्य स्मृतिलगायत शास्त्रीय ग्रन्थमा उल्लेखित व्यवस्थालाई आधार बनाएर एप तयार गरिएको उनले बताए ।
एपमा कर्म गराउने गुरु–पुरोहित तथा कर्म गर्ने यजमानले धर्मशास्त्रसम्बन्धी जिज्ञासा राख्न सक्ने व्यवस्था पनि गरिएको छ ।
वास्तविक समय र स्थानअनुसार सङ्कल्प
एपको प्रमुख विशेषतामध्ये वास्तविक समय र स्थानका आधारमा सङ्कल्प तयार हुनु रहेको छ । प्रयोगकर्ताले आफ्नो समय र स्थान राखेपछि एआई प्रविधिले आवश्यक विवरणसहितको सङ्कल्प तयार गरेर मोबाइलको स्क्रिनमा देखाउने व्यवस्था गरिएको छ ।
नेपालका करिब सात हजार नदी तथा नालाका नाम एपमा समावेश गरिएको छ । नेपालका तीर्थस्थल समेट्ने काम अन्तिम चरणमा पुगेको डा. गिरिले बताए । विश्वका प्रमुख नदीसमेत एपमा राखिएको र अन्य नदी तथा तीर्थस्थल थप्ने काम भइरहेको छ ।
यसका कारण कर्मकाण्ड गराउने क्रममा ठूला–ठूला पुस्तक बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने गुठीको विश्वास छ । इन्टरनेट उपलब्ध नभएको अवस्थामा एप अफलाइनमै प्रयोग गर्न सकिने भए पनि वास्तविक समय र स्थानका आधारमा तयार हुने सङ्कल्पका लागि इन्टरनेट आवश्यक पर्नेछ ।
चार भाषामा कर्मकाण्ड विधि
एपमा वेदका मूल मन्त्र संस्कृत भाषामै राखिएको छ भने कर्मकाण्डका विधि नेपाली, संस्कृत, अंग्रेजी र हिन्दी भाषामा उपलब्ध गराइएको छ ।
कुन कर्मका लागि कति पूजा सामग्री आवश्यक पर्छ, यजमानले के गर्नुपर्छ, ब्राह्मण तथा गुरु–पुरोहितको जिम्मेवारी के हो र कुन कर्ममा के गर्न निषेध गरिएको छ भन्नेसमेत एपमा उल्लेख गरिएको छ । मात्रासहित पूजा सामग्रीको विवरण पनि उपलब्ध गराइएको छ ।
एपमा पञ्चाङ्ग, तिथि, गोत्र, प्रवर, मुहूर्त तथा साइतसम्बन्धी जानकारीसमेत समेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोमा रहेका मुहूर्त तथा साइतलाई पनि एपमा समावेश गरिएको छ । दैनिक, मासिक र वार्षिक राशिफल हेर्न सकिने सुविधा तथा कम्पास र विभिन्न तिथि–मिति परिवर्तन गर्ने सुविधा पनि एपमा राखिएको छ ।
कुण्डली निर्माण तथा एआईमार्फत फलादेश प्राप्त गर्न सकिने सफ्टवेयरसमेत एपमा समावेश गरिएको गुठीले जनाएको छ ।
विवाह र व्रतबन्धका विधि पनि थपिँदै
गुठीका अनुसार विवाह, व्रतबन्धलगायत संस्कारका विधि पनि एपमा समावेश गर्ने तयारी गरिएको छ । विभिन्न देवी–देवताका स्तोत्र तथा रामायण, महाभारतलगायत पूर्वीय दर्शनका ग्रन्थको नेपाली अनुवादसमेत एपमा राख्ने काम भइरहेको छ ।
डा. गिरिले तयार पारेको नेपाली, संस्कृत, अंग्रेजी र हिन्दी भाषाको शब्दकोश पनि एपमा समावेश गर्ने तयारी छ । नेपालभरका धार्मिक तीर्थस्थल, गुरुकुल तथा गौशालाको विवरण एक वर्षभित्र एपमा समेट्ने लक्ष्य राखिएको गुठीले जनाएको छ ।
गुठीले हाल एप निःशुल्क प्रयोग गर्न सकिने जनाएको छ । यसले वैदिक ज्ञान र धर्मशास्त्रीय सामग्रीलाई डिजिटल माध्यमबाट सुरक्षित राख्नुका साथै नयाँ पुस्तालाई धर्म तथा संस्कृतिको अध्ययनतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
गुरु–पुरोहितको योग्यता पनि एपमै
कर्मकाण्ड गराउने गुरु–पुरोहितलाई प्रविधिसम्बन्धी प्रशिक्षण दिने योजना पनि गुठीले अघि सारेको छ । गुरु–पुरोहितको अनलाइन परीक्षा लिएर उनीहरूको योग्यता र दक्षताअनुसार सूची तयार गरी एपमै राख्ने तयारी गरिएको डा. गिरिले बताए ।
यसबाट यजमानले आफूलाई आवश्यक कर्मकाण्डका लागि योग्य गुरु–पुरोहित पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ । यसका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग सहकार्य गर्न सकिने उनको भनाइ छ ।
गुठीले कर्मकाण्डबाट प्राप्त दक्षिणाको केही हिस्सा नजिकका गुरुकुल, गौशाला वा तीर्थस्थललाई सहयोग गर्न सकिने डिजिटल व्यवस्था पनि विकास गरेको जनाएको छ ।
वैदिक ज्ञानलाई पुस्तान्तरण गर्ने प्रयास
वैदिक सनातन धर्म तथा संस्कृत शिक्षाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले वाग्को स्थापना गरिएको हो । गुठीले शुक्लयजुर्वेद संहिता, अनुवाद चन्द्रिकाका चार भाग, रुद्राष्टाध्यायी, संस्कार शिक्षाका तीन भाग, दशशान्तिमन्त्र, छन्दःशिक्षा, श्रीमद्वाल्मीकी रामायणका दुई खण्ड, वैदिक पञ्चाङ्ग तथा वाग् नेपाली–संस्कृत शब्दकोश प्रकाशन गरिसकेको जनाएको छ ।
एप निर्माणमा सहयोग गरेका नेपाली मूलका भुटानी तुलसीराम सुवेदी हाल अमेरिकाबाट नेपाल आएर वैदिक वाङ्मयको अध्ययनमा संलग्न छन् । उनका अनुसार नयाँ पुस्ता मोबाइल, ट्याब्लेट र ल्यापटपजस्ता उपकरणसँग बढी जोडिएकाले यिनै माध्यमबाट वैदिक ज्ञान अध्ययन गर्न सकिने व्यवस्था प्रभावकारी हुन सक्छ ।
अमेरिकामा समेत कर्मकाण्ड गराउँदै आएका सुवेदीले आफ्नो पुस्तामा आइपुग्दा गुरु–पुरोहितको सङ्ख्या उल्लेख्य रूपमा घटेको अनुभव सुनाए । नेपाली तथा हिन्दू धर्मावलम्बीको ठूलो बसोबास रहेका अमेरिकाका भर्जिनिया, न्यूयोर्क र क्यालिफोर्नियालगायत स्थानमा एप उपयोगी हुने उनको विश्वास छ ।
गुरु–पुरोहितका रूपमा दुई दशकदेखि काम गर्दै आएका कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका ४३ वर्षीय विदुर सापकोटाले पनि एपले कर्मकाण्ड गराउँदा पुस्तक बोकेर हिँड्नुपर्ने झन्झट हटाउने र सङ्कल्प तथा मन्त्र–विधिमा एकरूपता ल्याउन सहयोग पुग्ने बताए ।
वाग्का अनुसार एप अहिले प्रारम्भिक संस्करणमा रहेकाले प्रयोगकर्ताको सुझावका आधारमा यसमा थप सुधार र नयाँ सुविधा जोडिँदै जानेछन् । अडियो, भिडियो तथा पोडकास्टमार्फत वैदिक वाङ्मयबारे सामग्री उपलब्ध गराउने तयारीसमेत भइरहेको छ ।




