काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसलाई एउटै परिवारका रूपमा लिएर आपसी असमझदारी र मतभेदलाई सौहार्दपूर्ण छलफलमार्फत समाधान गर्नुपर्ने बताएका हुन्।
उनले पार्टीभित्रको बहसका क्रममा आफूले पनि कहिलेकाहीँ कसैप्रति तिखो टिप्पणी गरेको हुन सक्ने र अरू नेताले आफूविरुद्ध त्यस्तै टिप्पणी गरेको हुन सक्ने उल्लेख गर्दै त्यसलाई व्यक्तिगत रूपमा लिन नहुने बताए।
‘मैले कहिलेकाहीँ बोल्दै गर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला। हामीले कहिल्यै पनि त्यो कुरालाई व्यक्तिगत रूपमा लिने गरेका छैनौँ,’ उनले भने।
पार्टी जीवनमा सँगै काम गर्ने क्रममा एकअर्काको व्यवहार वा अभिव्यक्तिबाट कहिलेकाहीँ ठेस पुग्न सक्ने भन्दै थापाले त्यस्ता विषयलाई सामान्य रूपमा लिएर संवाद र छलफलमार्फत अघि बढ्नुपर्ने धारणा राखे।
‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो। हाम्रो पार्टी परिवार हो, एउटै परिवार हो। परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ,’ उनले भने, ‘मबाट पनि भयो होला, अरू साथीहरूबाट पनि भए होला। यी सामान्य कुरा हुन्। यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लैजाने कुरा हो।’




