ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षणलाई तीव्रता दिएको छ । ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिकविज्ञ निराजन थापाक्षेत्रीका अनुसार डिएनए परीक्षणका लागि अहिलेसम्म ८३७ शव र ८२५ आफन्तको नमूना सङ्कलन भइसकेको छ ।
प्रयोगशालाका प्रमुख थापाले भने “अहिलेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको ल्याबमा ८३७ शव र ८२५ वटा परिवारका सदस्यको नमूना आएको छ । प्राप्त आफन्तको रगतको नमूनामध्ये ५८८ वटाको डिएनए परीक्षण भइसकेको छ भने ८३७ मध्ये १९ वटा शवको मात्र डिएनए परीक्षण भएको छ ।”
प्रयोगशालामा प्राप्त एक हजार ६६२ नमूनाको ‘प्रोफाइल’ निकालेर डिएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उनको भनाइ छ । यो काम परिवार र आफन्तले सोचेजस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको उनले बताए ।
“कुनै व्यक्तिको शरीरबाट लिइएको नमूनाबाट प्राप्त डिएनएले उसको जैविक पहिचानसम्बन्धी जानकारी बोकेको हुन्छ । डिएनए परीक्षण चिकित्सा विज्ञानमा अनुसन्धानदेखि विपद्मा मृत्यु भएकाको शव पहिचानका लागि वैज्ञानिक प्रक्रिया मानिन्छ”, प्रयोगशालाका प्रमुख थापाले भने ।
अहिले भोटेकोशी विपद्मा परेका व्यक्ति र परिवारको इतिहास पत्ता लगाउन प्रयोगशालाले अटोजमल डिएनए (आमा–बुबा दुवैबाट प्राप्त हुने) परीक्षण विधि अवलम्बन गरिएको उनले जानकारी दिए । वंशावली र पारिवारिक इतिहास पत्ता लगाउन यो प्रणाली अन्तरराष्ट्रियस्तरमा भरपर्दो भएको उहाँको दाबी छ ।
प्रयोगशाला प्रमुख थापाले भने “विपद्मा ज्यान गुमाएका व्यक्तिको इतिहास थाहा पाउन अहिले हामीले अघिपछि गरेजस्तै अटोजमल डिएनए परीक्षण विधिबाट काम गरिराखेका छौँ । डिएनए परीक्षण गर्दा दुई–तीन कुरा हेर्न मिल्छ । एउटा पितृत्वको वंश, मातृत्वको वंश र अर्को व्यक्तिव्यक्तिको सम्बन्ध कस्तो भनेर पहिचान गर्न हेर्ने विधि अटोजमल हो ।” यो विधिमा कुनै एक व्यक्तिको अर्को व्यक्तिसँगको नाता कायम र व्यक्तिको पहिचान हुन्छ ।
परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिइएको नमूनाको परीक्षण गरिसकेपछि डिएनए मिलानको काम सुरु हुने थापाले जानकारी दिए । “परिवारका सदस्यसँग मृतकको डिएनए मिलाउने काम सुरु भएको छैन । मृतकका आफन्तको प्रोफाइलबाट डिएनए परीक्षणको काम सकेपछि मात्र शवसँग मिलानको काम हुन्छ । लगभग व्यक्तिगत प्रोफाइलमा परिवारका सदस्यको डिएनए परीक्षणको काम ७० प्रतिशत सकिएको छ । आफन्तको परीक्षणको काम सकिएपछि मृतकको डिएनए परीक्षणलाई थप अगाडि बढाउँछौँ । त्यसपछि मात्र मिलानको काम हुन्छ”, उनले भने ।
एक महिनापछि अहिलेदेखि सङ्कलन भएका नमूना र शवका अङ्गबाट लिइएको प्रमाणको डिएनए मिलानको काम सुरु हुने थापाको भनाइ छ । विदेशीविज्ञको निरन्तर सहयोग रहेमा एक महिनापछि सङ्कलन भएका नमूनाको परीक्षण सकेर डिएनए मिलान सुरु हुने उनले बताए । अहिले ललितपुरको प्रयोगशालामा नेपालसहित भारत, चीन र कोरिया, सिङ्गापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डिएनएका लागि सङ्कलन भएका नमूना सङ्कलन, शव परीक्षणलगायतका काममा सहयोग गरिरहेका छन् ।
प्रमुख थापाले भने “हड्डीको परीक्षणका लागि समय लाग्छ भनेका थियौँ । प्रयोगशालामा डिएनए परीक्षणका लागि भारत, चीन र कोरियाका विज्ञ हुनुहुन्छ । उहाँहरू लामो समय बसिदिनुभयो भने अबको एक महिनामै मिलानको काम सुरु हुन्छ । यसका अतिरिक्त परीक्षणमा सिङ्गापुर, जापान र अमेरिकाबाट आउनुभएका डाक्टरको विशेषज्ञ टोलीले काम गरिराख्नुभएको छ ।”
आफन्तको प्रोफाइल निकालेपछि शवसँग तुलना गर्न औँठा छाप, दाँत, रगत, कपाल, हड्डीलगायतबाट निकालेको नमूनाबाट डिएनए परीक्षण गरिने थापाले बताए । सरकारले शवको पहिचान दुई चरणमा गर्ने भनेकाले अब थप सङ्कलन हुने नमूनाको परीक्षण दोस्रो चरणमा गर्न सकिने उनको भनाइ छ ।
“नुवाकोटका गाउँगाउँमा घुम्ती टोली पुगेर डिएनएका लागि नमूना सङ्कलनको काम गरिरहेको छ । त्यो पनि आउँदा समय थप समय लाग्नसक्छ”, प्रमुख थापाले भने । भोटेकोशी बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी, काठमाडौँमा डिएनए परीक्षणको काम भइरहेको छ ।




