तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती हुने भटमास पछिल्लो समय खेतबारीबाटै हराउँदै गएको छ। एक दशकअघिसम्म बारीभरि देखिने भटमासका बोट अहिले म्याङलुङ आसपासका क्षेत्रमा फाट्टफुट्ट मात्र देखिन थालेका छन्।
प्रशस्त प्रोटिन पाइने भटमास स्थानीय समुदायको खानपान र कृषि संस्कृतिसँग समेत जोडिएको बाली हो। हरियो कोसा उसिनेर वा तरकारीका रूपमा खाने, पाकेको दाना भुटेर प्रयोग गर्ने तथा परम्परागत रूपमा किनिमा बनाउने चलन छ। भटमासबाट तेलसमेत उत्पादन गरिन्छ।
सदरमुकाम म्याङलुङ आसपासका सुक्खा, पानी नजम्ने र दोमट माटो भएका क्षेत्र भटमासखेतीका लागि उपयुक्त मानिन्थे। म्याङलुङ, तम्फुलालगायत क्षेत्रमा विगतमा यसको व्यावसायिक रूपमा समेत खेती हुने गरेको स्थानीय बताउँछन्। करिब एक दशकअघिसम्म मुरीका मुरी भटमास उत्पादन हुने बारीमा अहिले यसको उत्पादन निकै घटेको छ।
म्याङलुङ नगरपालिका–२ मेयङलुङका स्थानीय मनी खापुङका अनुसार खेती प्रणालीमा आएको परिवर्तनसँगै रासायनिक मलको प्रयोग बढ्दा भटमासलगायत रैथाने बाली प्रभावित भएका छन्।
“पहिले हाम्रो बारीमा भटमाससँगै अन्य रैथाने बाली पनि प्रशस्त हुन्थे,” उनले भने, “अहिले खेती गर्ने तरिका परिवर्तन भएको छ। रासायनिक मलको प्रयोग बढेसँगै पुराना बालीको उत्पादन पनि घट्दै गएको छ।”
भटमाससँगै रैथाने जातका सिमी, विभिन्न दाल तथा कोदोको खेतीसमेत घट्दै गएको स्थानीयको भनाइ छ। म्याङलुङ नगरपालिका–२ की देवीमाया राईले रैथाने बाली हराउँदै जाँदा स्थानीय उत्पादनसँगै परम्परागत खानपानमा समेत असर परेको बताइन्।
“हाम्रा बाउबाजेले लगाउँदै आएका धेरै बाली अहिले खेतबारीमा देखिन छाडेका छन्,” उनले भनिन्, “बाली मात्र हराएको होइन, त्यससँग जोडिएको खानपान र परम्परा पनि विस्तारै हराउँदै गएको छ।”
म्याङलुङमा मात्र नभई तम्फुला र बिस्कुनेलगायत क्षेत्रमा पनि भटमासखेती घटेको छ। विगतमा यही समयमा हरियो कोसा लागेका भटमासका बोटले बारी ढाक्ने गरे पनि अहिले ती क्षेत्रमै यसको खेती मुस्किलले देखिने स्थानीय बताउँछन्।
म्याङलुङ नगरपालिका–१० बिस्कुनेका किसान प्रेम पताङ्वाका अनुसार कहीँकतै फाट्टफुट्ट भटमासका बोट देखिए पनि विगतको तुलनामा उत्पादन निकै कम छ। उनका अनुसार अहिले धेरैजसो बारीमा भटमासको स्थान मकैले लिन थालेको छ।
कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईले रासायनिक मलको प्रयोग हुने क्षेत्रमा भटमासको उत्पादनमा कमी आएको बताए। माटोको अवस्था, खेती प्रणालीमा आएको परिवर्तन र रासायनिक मलको बढ्दो प्रयोगलगायत कारणले रैथाने बालीको उत्पादन प्रभावित भएको हुनसक्ने उनको भनाइ छ।
भटमास दलहनसँगै तेलहन बालीका रूपमा समेत महत्त्वपूर्ण मानिन्छ। हरियो कोसा, पाकेको दाना, किनिमा र तेलका रूपमा प्रयोग गर्न सकिने भएकाले यसको उपयोगिता बहुआयामिक छ।
स्थानीय उत्पादन घट्दै गएपछि एक दशकअघिसम्म भटमास उत्पादनको केन्द्र मानिने म्याङलुङ आसपासका बासिन्दाले अहिले तराईबाट ल्याइएको भटमास खरिद गरेर उपभोग गर्नुपर्ने अवस्था आएको छ।
कृषि जानकारका अनुसार रैथाने बाली कृषि उपजमा मात्र सीमित हुँदैनन्। ती स्थानीय समुदायको संस्कृति, खानपान, परम्परा, ज्ञान, सीप र पहिचानसँग जोडिएका हुन्छन्। त्यसैले भटमासजस्ता लोपोन्मुख रैथाने बालीको संरक्षणका लागि स्थानीय जातको संरक्षण, किसानलाई उत्पादनमा प्रोत्साहन तथा परम्परागत ज्ञान र प्रयोगको प्रवर्द्धनमा जोड दिन आवश्यक छ।




