देश

बाढीमा ज्यान गुमाएकाको आत्मशान्तिको कामनासहित साइकल यात्रा

बागमती। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिको कामना तथा प्रभावितको शीघ्र पुनःस्थापनाको माग गर्दै निजगढ साइकल क्लबको टोली साइकल यात्रामा निस्किएको छ।

लमजुङको घलेगाउँसम्मको साइकल यात्रामा निस्किएको निजगढ राइडर्स क्लबको पाँच सदस्यीय टोलीलाई आज हेटौँडामा स्वागत गरिएको छ। क्लबका उपाध्यक्ष भूपेन्द्र सापकोटाको नेतृत्वमा रहेको टोलीलाई हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहितको टोलीले स्वागत गरेको हो।

क्लबका सल्लाहकार उत्तम शर्माका अनुसार ७५ वर्षीय नवीन लम्सालसहितको टोली साइकल यात्रामार्फत लमजुङको घलेगाउँसम्म पुग्नेछ।

देशभर रहेका साइकल क्लबहरू समाजका हरेक सुखदुःखमा सँगै छन् भन्ने सन्देश दिन पनि साइकल यात्रा आयोजना गरिएको हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष थापाले बताए। यात्राले सहकार्य र एकताको सन्देश प्रवाह गर्ने उनको विश्वास छ।

लमजुङ जिल्ला साइकल सङ्घको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देशभरका साइकल सङ्घका प्रतिनिधि लमजुङमा भेला हुन लागेको उनले जानकारी दिए।

देशका विभिन्न स्थानबाट करिब ५०० साइकल यात्री लमजुङ पुग्ने बताउँदै थापाले हिमालयन राइडर्स सोसाइटीका तर्फबाट ५० जनाको सहभागिता रहने जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *