देश

अंक गायब भएपछि विद्यार्थीलाई एक दिनको म्याद, आरआर क्याम्पसको सूचनाप्रति असन्तुष्टि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसका बीए चौथो वर्षका २८९ विद्यार्थीको नतिजामा ‘नेपाल अध्ययन’ विषयको आन्तरिक अंक समावेश नभएपछि क्याम्पसले आवेदन दिन एक दिनको समय दिएको छ। विश्वविद्यालयले सार्वजनिक गरेको नतिजामा विद्यार्थीको लिखित परीक्षाको अंक उल्लेख भए पनि ३० पूर्णाङ्कको आन्तरिक मूल्यांकन भने खाली देखिएको हो। आन्तरिक अंक नै नदेखिएपछि विद्यार्थीको नतिजा प्रभावित हुने अवस्था बनेको छ।

विवाद बढेपछि क्याम्पसले आज सूचना जारी गर्दै सम्बन्धित विद्यार्थीलाई भोलिसम्म आवेदनमार्फत जानकारी गराउन भनेको छ। तोकिएको समयभित्र आवेदन नदिए अंक अद्यावधिक गर्न नसकिने र त्यसपछि पुनः अवसर नदिइने सूचनामा उल्लेख छ। तर, क्याम्पसले दिएको एक दिनको समयप्रति विद्यार्थीहरू असन्तुष्ट छन्। आन्तरिक मूल्यांकनको अंक नदेखिनुमा विद्यार्थीको भन्दा सम्बन्धित निकायको कमजोरी हुन सक्ने भन्दै उनीहरूले त्यसको जिम्मेवारी विद्यार्थीमाथि थोपर्न नहुने बताएका छन्।

विद्यार्थीहरूले आवेदन बुझाउन पर्याप्त समय उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले ‘अंक गायब हुनुको गल्ती कसको हो र त्यसको असर विद्यार्थीले किन बेहोर्नुपर्ने?’ भन्दै क्याम्पसको निर्णयप्रति प्रश्न उठाएका छन्। आन्तरिक मूल्यांकनको अंक समावेश नभएको विषयमा क्याम्पसले सूचना जारी गरे पनि विद्यार्थीहरूले भने समस्या समाधानका लागि सहज र पर्याप्त समयसहितको प्रक्रिया अपनाउनुपर्ने माग अघि सारेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *