काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले छापा मारेको छ । अनियमितता सम्बन्धी विभिन्न उजुरी र सरकारी निकायका प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको बताइएको छ ।
सीआईबी स्रोतका अनुसार दूरसञ्चार प्राधिकरणको पत्राचार र सम्बन्धित कार्यदलको प्रतिवेदनको सिफारिसपछि कम्पनीमाथि औपचारिक अनुसन्धान प्रक्रिया सुरु गरिएको हो ।
एनसेल स्मार्ट टेलिकमसम्बन्धी सम्पत्ति लिलामी प्रक्रिया, शेयर बाँडफाँट र अन्य वित्तीय गतिविधिमा अनियमितता भएको आशंकामा पहिलेदेखि नै निगरानीमा रहेको स्रोतले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकसँग मिलेर गरिएको भनिएको लिलामी प्रक्रिया पनि अनुसन्धानको दायरामा परेको बताइएको छ ।
छापा क्रममा सीआईबी टोलीले एनसेल मुख्यालयबाट केही महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ । ती दस्तावेजहरूको अध्ययनपछि थप अनुसन्धान अघि बढाइने जनाइएको छ ।
प्रहरीले हालसम्म औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक नगरे पनि कम्पनीका वित्तीय तथा प्रशासनिक गतिविधिमाथि गहिरो अनुसन्धान भइरहेको संकेत दिएको छ ।




