देश

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेको तयारी तीव्र

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आउँदो जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसलाई प्रभावकारी रूपमा आयोजना गर्न मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार आयोजित तयारी बैठकमा महासचिव पोखरेलले स्मृति दिवसलाई पार्टी र जनताबीचको सम्बन्ध अझ सुदृढ बनाउने अवसरका रूपमा लिन आग्रह गरे ।

तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित को स्मृतिमा देशभर विभिन्न कार्यक्रम आयोजना गर्न एमालेले तयारी थालेको हो ।

महासचिव पोखरेलले प्रदेश, जिल्ला कमिटी तथा जनसङ्गठनलाई नेताद्वयको योगदान, पार्टीको विचार र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो अनुकूलताअनुसार कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

बैठकमा पार्टी सचिव तथा जनसङ्गठन समन्वय संयोजक भानुभक्त ढकाल, पार्टी सचिव तथा राजधानी विशेष प्रदेश इन्चार्ज डा राजन भट्टराई लगायत विभिन्न जनसङ्गठन र पार्टी कमिटीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

एमालेका अनुसार केन्द्रस्तरमा बल्खुस्थित मदननगरमा विशेष स्मृति कार्यक्रम आयोजना गरिनेछ । जिल्लास्तरमा विचार गोष्ठी, जनताको बहुदलीय जनवादबारे परिसंवाद तथा नेताद्वयको योगदानबारे चर्चा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यसका साथै वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी तथा बिरामी भेटघाट र फलफूल वितरणजस्ता सामाजिक कार्यक्रम पनि सञ्चालन गरिने एमालेले जनाएको छ ।

जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *