काठमाडौं । समाजवादी मोर्चाले हालको राजनीतिक र आर्थिक अवस्थालाई गम्भीर मान्दै, संघर्षलाई सशक्त बनाउने निष्कर्ष निकालेको छ।
नेकपा (एस)को आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले मोर्चाले हालसम्म गरेको काम पर्याप्त नभएको भन्दै समीक्षा गरिएको जानकारी दिए। “सैद्धान्तिक रूपमा मोर्चा सफल भए पनि गतिमा कमजोरी छ,” उनले भने, “यदि मोर्चा प्रभावकारी रूपमा अघि बढेन भने यसको अर्थ समाप्त हुन्छ भन्ने चेतावनी बैठकमै दिइयो।”
बैठकले समाजवादी मोर्चालाई नयाँ ऊर्जा र स्पष्ट दिशा दिनेगरी पुनर्संरचना गर्नुपर्ने ठहर गरेको छ। देशको हालको अवस्थालाई अप्ठेरो बताउँदै, मोर्चाले भदौको अन्ततिर देशव्यापी कार्यक्रमसहित संघर्षको तयारी गर्ने बताइएको छ।
प्रकाण्डका अनुसार, मोर्चाले अब समाजवादी धारलाई व्यवहारिक र तार्किक रूपमा विस्तार गर्ने रणनीति बनाउँदैछ। यदि सही ढंगले अघि बढिएन भने, देश नै संकटमा फस्न सक्ने चेतावनी पनि बैठकले दिएको छ।




