काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी दलहरूबीच तत्काल एकता सम्भव नदेखिएको बताएकी छन्। मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले कम्युनिस्ट पार्टीहरूबीचको विश्वास संकटले वाम एकता कठिन रहेको धारणा राखिन्।
भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा प्रति स्पष्ट पार्दै भनिन्, “म जहाँ जन्में, हुर्कें, त्यो समाज र धारबाट टाढा छैन। तर, पार्टीको कार्यक्रममा सहभागी हुन अनुमति लिनु नपर्ने मेरो हैसियत हो।” उनले चीन भ्रमणपछि झापाको एमाले कार्यक्रममा सहभागिता जनाएपछि उठेका राजनीतिक अड्कलबारे पनि बोलिन्। “मैले व्यक्तिगत आकांक्षा राखेकी छैन, राष्ट्र र नयाँ पुस्ताको लागि लाग्ने हो,” उनले भनिन्।
केपी शर्मा ओलीको प्रतिस्पर्धी हुन लागेको भन्ने जिज्ञासामा भण्डारीले भने, “अध्यक्षज्यूले मलाई प्रतिस्पर्धी ठानेको जस्तो मलाई लाग्दैन, त्यो कार्यकर्तालाई आश्वस्त पार्ने अभिव्यक्ति मात्र हुनसक्छ।” उनले वाम एकताको नेतृत्व लिने अड्कलबारे भने, “विश्वासको संकट छ, त्यसैले तत्काल एकता सम्भव छैन। तर, सबै दलबीच राष्ट्रिय एजेण्डामा छलफल र सहकार्य आवश्यक छ।”
भण्डारीको कुराले संकेत गर्छ– उनी पार्टीगत राजनीतिको मूलधारमा फर्कने संकेत दिँदैछिन्, तर त्यसका लागि कुनै औपचारिक घोषणाको आवश्यकता अझै बाँकी छ।




