काठमाडौं । राजावादी समूहले जेठ १५ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनलाई लिएर सुरक्षा रणनीति तय गर्न गृहमन्त्री रमेश लेखकले चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाई उच्चस्तरीय छलफल गरेका छन्। मंगलबार साँझ गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए।
गृहमन्त्री लेखकले विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाको कमजोरीमाथि कडा आलोचना भएको थियो। त्यसयता सरकार यस्ता प्रदर्शनहरूमा कुनै कमजोरी नहोस् भन्ने उद्देश्यले बढी सजग देखिएको छ।
यसअघि सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सिंहदरबारमा सुरक्षा अधिकारीहरूलाई बोलाई राजावादी आन्दोलनका सम्भावित असर र आवश्यक तयारीबारे निर्देशन दिएका थिए।
सरकारको सक्रियता प्रदर्शनको स्वतन्त्रता सुनिश्चित गर्न र सार्वजनिक सुरक्षालाई कायम राख्न दुवैलाई सन्तुलित रूपमा व्यवस्थापन गर्नका लागि भएको जनाइएको छ।




