राजनीति

बेइजिङबाट भण्डारीको सन्देश – समृद्ध नेपाल–सुखी नेपाली मदन भण्डारीको बाटो

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजधानी बेइजिङमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्बोधन गर्दै नेपालको समृद्धिको एजेन्डालाई स्वर्गीय नेता मदन भण्डारीको विचारसँग जोड्दै चिनियाँ सहयोगको उच्च सराहना गरिन्। भण्डारीले उक्त मन्तव्य चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित “बिल्डिङ अ कम्युनिटी विथ अ शेयर्ड फ्युचर विथ नेबरिङ कन्ट्रिज” शीर्षक सम्मेलनमा दिएकी हुन्।

मदन भण्डारीको स्मरणसँगै समृद्धिको सन्देश : २२ मिनेट लामो सम्बोधनमा भण्डारीले नेपाल–चीन सम्बन्ध, दुवै देशबीचको आपसी सहकार्य, तथा नेपालको राजनीतिक र आर्थिक रुपान्तरणमा चीनको योगदानको चर्चा गरिन्। “नेपालको विकासमा चीनको निरन्तर सहयोग रहँदै आएको छ,” उनले भनिन्, “नेपालको राजनीतिक रुपान्तरणमा मदन भण्डारीको वैचारिक योगदान अझै स्मरणीय छ। अहिलेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान पनि त्यही विचारको जगमा आधारित छ।”

पूर्वराष्ट्रपति भण्डारीले एसियाली मुलुकहरूबीच शान्ति, स्थिरता र साझा समृद्धिका लागि सहकार्य आवश्यक रहेको बताइन्। “आजको अस्थिर विश्वमा एसियाले नेतृत्व लिने समय आएको छ,” उनले भनिन्, “चीनजस्ता मुलुकहरूले शान्ति र स्थायित्व कायम गर्न अग्रसर भूमिका खेल्नुपर्छ।” चीन भ्रमणको क्रममा भण्डारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछिन्। कार्यक्रममा नेकपा एमाले र सीपीसीबीचको सम्बन्ध, विचार र अनुभव साटासाट, तथा सहकार्यका सम्भावनाहरूबारे पनि उनले सम्बोधनमा चर्चा गरिन्।

चिनियाँ नेताहरूसँगको भेटमा भण्डारीले ‘एक चीन नीति’ प्रति नेपालको समर्थन यथावत् रहेको स्पष्ट पारिन्। चिनियाँ पक्षले पनि नेपालप्रति निरन्तर समर्थन र सहकार्यको आश्वासन दिएको जानकारी दिइएको छ। उक्त कार्यक्रममा दक्षिण, पूर्वी, उत्तरपूर्वी र मध्य एसियाका १४ देशका कम्युनिस्ट पार्टीहरूका नेताहरूको सहभागिता थियो। सीपीसीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको यो सम्मेलन छिमेकी मुलुकहरूसँगको राजनीतिक सम्वाद र मित्रवत सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो।

भण्डारीको चीन भ्रमण आगामी दिनहरूमा विभिन्न उच्चस्तरीय भेटवार्ता र भ्रमणका कार्यक्रमसहित अघि बढ्ने बताइएको छ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *