मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई वर्षदेखि अलपत्र पर्दै आइरहेको छ । सरकारले दीर्घकालीन महत्वको ‘एक स्थानीय तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधारका लागि बहुवर्षीय आयोजना अघि बढाएको हो । हाल उक्त निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बजेट विनियोजन नहुँदा अलपत्र परेको छ ।
आव २०७६/७७ मा जोमसोममा सुविधा सम्पन्न दुईतले बहुउद्देश्यीय कभर्ड हल निर्माण सुरु गरिएको थियो । सङ्घीय, प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माणाधीन जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड हल विगत दुई वर्षदेखि रोकिएको छ । कभर्ड हलको लागत रु छ करोड ५८ लाख तय गरिएको छ ।
इनडोर खेलमैदानलगायत विभिन्न पूर्वाधारको व्यवस्थापन गर्ने गरी निर्माण थालनी गरिएको जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड सङ्घ, प्रदेश र स्थानीय तहको टुक्रे बजेट र समयमा आवश्यक बजेट नहुँदा निर्माण सम्पन्न हुन बिलम्व भएको हो । समयमा बजेट सुनिश्चितता नहुने, विनियोजित रकम लागत अनुपातभन्दा न्यून बजेट हुँदा कर्भड हल निर्माणले गति लिन नसकेको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्र बमले जानकारी दिए ।
आयोजना सुरु भएको छ वर्ष बितिसक्दा यसको भौतिक प्रगति ४० प्रतिशत रहेको उनले उल्लेख गरे । निर्माणाधीन कभर्डहल आयोजना कार्यान्वयनमा आएको पहिलो वर्ष सङ्घीय सरकारबाट रु ४० लाख, प्रदेशबाट रु ५० लाख र घरपझोङ गाउँपालिकाको समपूरक बजेट रु १५ लाख लागत साझेदारी गरिएको थियो ।
यसैगरी आव २०७७/७८ मा प्रदेश सरकारबाट रु २५ लाख र स्थानीय तहबाट रु १७ लाख गरी रु ४२ लाख बजेट विनियोजन भएपछि कभर्ड हल निर्माणलाई निरन्तरता दिइएको थियो । “आव २०७८/७९ मा सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी रु ३२ लाख बजेट विनियोजन भएको थियो । आव २०८०/८१ मा पनि सङ्घीय सरकारबाट रु ३२ लाख र स्थानीय तहको समपूरक बजेट रु २० लाख गरी रु ५२ लाख बजेट परेको थियो”, इन्जिनियर बमले भने ।
पछिल्लो समय घरपझोङमा निर्माणाधीन कभर्ड हलमा रु दुई करोड बढी बजेट खर्च भइसकेको उनले जानकारी दिए । निर्माण सुरु भएको छ वर्ष पुग्दा कभर्ड हलमा दर्शक बस्नका लागि प्यारापिट र भुइँतला ‘स्ट्रक्चर’ निर्माण भएका छन् । समग्रमा कभर्ड हलको दुई तला स्टक्चर उठिसकेको छ ।
हलको भित्र र बाहिरका कभर्डमा विभिन्न कक्षको कोठाका संरचना तयार भएका छन् । कभर्ड हलमा फलामे ढोका पनि जडान गरिएको छ । जोमसोम खेल मैदानमा ७०० देखि ८०० दर्शक अट्ने गरी निर्माण भइरहेको इन्जिनियर बमले जानकारी दिनुभयो । दुई तले कभर्ड हलको नमूना डिजाइन प्रदेश सरकारले पठाएपछि घरपझोङ गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो ।
उनका अनुसार यसको लम्बाइ ४५ मिटर र चौडाइ २५ मिटर हुनेछ । जोमसोममा निर्माणाधीन दुई तले कभर्ड हलमा इन्डोर भलिबल खेल मैदान, अफिस कोठा, परिवर्तन कक्ष (चेन्जिङ रुम), प्यारापिट, भिआइपी कक्ष, मेडिकल हल, शौचालयलगायत पूर्वाधार निर्माण हुने योजना छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले कभर्ड हल निर्माण सम्पन्न गर्नका लागि सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गरिए पनि पछिल्लो समय बजेट विनियोजन हुन नसकेका बताए ।
स्थानीय तहले चाहेर पनि कभर्ड हल निर्माण सम्पन्न गर्न नसक्ने भएकाले उपल्लो निकायको ध्यानाकर्षण गराउँदै आइएको उनको भनाइ छ । मुस्ताङका पाँच स्थानीय तहमा सुविधा सम्पन्न इन्डोर खेल मैदान (कभर्ड हल) नहुँदा यहाँ विभिन्न खेलकुदकम कार्यक्रम आयोजना गर्न निकै कठिनाइ हुँदै आएको थियो । समुद्री सतहबाट दुई हजार ७०० मिटर उचाइमा अवस्थित मुस्ताङको जोमसोममा दिउँसो १२ः०० बजेपछि बेजोडले हावाहुरी चल्ने हुँदा यहाँ आउट डोर खेल सञ्चालन गर्न कठिन हुन्छ ।




