राजनीति

शिक्षकहरुको आन्दोलनबाट फर्काइएपछि झलनाथ खनालको सरकारलाई धम्कीपूर्ण चेतावनी : शिक्षकका माग सम्बोधन नगरे ठुलो जनआन्दोलन उठ्नेछ

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले शिक्षकका जायज मागलाई तुरुन्तै सम्बोधन गर्नुपर्ने कुरा औंल्याउँदै चेतावनी दिएका छन् । सरकारले शिक्षकहरूको माग सम्बोधन नगरे भने, देशभर ठूलो जनआन्दोलन हुने भन्दै उनले सरकारलाई धम्कीपूर्ण चेतावनी दिए ।

२७ दिनदेखि सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरूका मागमा सरकारको चुप्पी र दमनको व्यवहारको विरोध गर्दै खनालले यस्तो धम्कीपूर्ण चेतावनी सरकारलाई दिएका हुन्। अखिल नेपाल शिक्षक संघका सदस्यहरूले शान्तिपूर्ण तरिकामा आन्दोलन गर्दै आएका छन् र उनीहरूले आफ्ना माग पुरा गर्नका लागि प्रदर्शन गरिरहेका छन्। खनालले सरकारले शिक्षकहरूको मागलाई प्राथमिकतामा राखेर समाधान गर्नु पर्ने बताएका छन्। उनले भने, शिक्षकहरू देशका बालबालिकाका गुरुआमा हुन्। उहाँहरूको मागलाई सम्बोधन गर्नु अत्यन्त महत्वपूर्ण छ, अन्यथा, सरकारलाई ठुलो जनआन्दोलनको सामना गर्न तयार रहनु पर्छ।

सरकारको अकर्मण्यता र जनविरोधी क्रियाकलापको विरोध गर्दै खनालले भने, देशमा ठुलो परिवर्तन भइसकेको छ, तर अहिले पनि पुरानो ऐन लागू भइरहेको छ। सरकारले तुरुन्तै नयाँ ऐन ल्याउनुपर्ने थियो, तर यसमा ध्यान दिइएको छैन। नेता रामकुमारी झाक्री द्वारा शिक्षक आन्दोलनको विरोधको आलोचना गर्दै खनालले ती भनाइलाई गलत बताउँदै, नेकपा एस पार्टीको पूर्ण समर्थन शिक्षक आन्दोलनको लागि रहेको बताएका छन्।

शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका नेकपा एसका प्रमुख नेता माधव कुमार नेपाल र झलनाथ खनाल समेत आन्दोलनकारीहरूको आक्रोशपूर्ण विरोधको सामना गर्नुपर्‍यो। शिक्षकहरूले उनीहरूलाई आक्रोशपूर्ण नाराबाजीू सहित विदा गरे र आफ्नो आन्दोलनलाई राजनीतिक रंग नदिन आग्रह गरे। यो अप्रत्याशित विरोधपछि, नेपाल र खनाल नेतृत्वको टोली तुरुन्तै फर्किन बाध्य भयो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *