काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले सुकुम्बासी समस्या समाधान गर्ने क्रममा कसैलाई पनि घरबारविहीन नबनाउने बताएका छन् ।
बुधबार रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै उनले जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई पटक–पटक सूचना दिएर सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।
उनले भने, ‘जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र व्यवस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ। कतै कुनै थप सजगता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु सरकारको कर्तव्य हो। देशैभर रहेको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबारविहीन बनाउने छैन।’
लामिछानेले सरकारले सबै नागरिकको गाँस, बास, कपास र रोजगारी सुनिश्चित गर्ने जिम्मेवारी लिने पनि बताए । उनले कसैलाई पनि घरबारविहीन हुन नदिने प्रतिबद्धता जनाउँदै आवश्यक समन्वयका लागि आएका सुझाव स्वागतयोग्य हुने उल्लेख गरे ।
उनले सुकुम्बासी समस्यालाई राजनीतिकरण नगर्न आग्रह गर्दै जोखिमयुक्त स्थानमा बसोबास गराइने अवस्थालाई ‘भोट बैंक’ को राजनीति बनाउनु गलत हुने टिप्पणी पनि गरे ।




