काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक अपाङ्ग महासंघमा गम्भीर विवाद उत्पन्न भएको छ। गगन थापा समूहका नेताहरूको संलग्नतामा एकपक्षीय रूपमा निर्वाचन घोषणा गरिएको भन्दै अर्को पक्षले समानान्तर समिति गठन गरेको छ।
निर्वाचन समितिका मधु आचार्य र अजयबाबु शिवाकोटीको संलग्नतामा घोषणा भएको नेतृत्वलाई अवैध भन्दै अध्यक्ष पदका प्रत्यासी कल्पना खड्का र विकास थापाले विरोध जनाउँदै छुट्टै समिति घोषणा गरेका छन्।
शेखर कोइराला समूहका विकास थापाको अध्यक्षतामा घोषणा गरिएको समितिमा उपाध्यक्षमा टेकप्रसाद आचार्य र उमादेवी घिमिरे, महामन्त्रीमा अश्विन लम्साल र प्रकाश सिलवाल तथा कोषाध्यक्षमा पर्वतराज विष्ट चयन भएका छन्।
विकास थापाले निर्वाचन निष्पक्ष नभएको दाबी गर्दै आफूहरूलाई मतदान स्थलमै जान नदिइएको आरोप लगाए। उनले भने, फर्जी मतदाता प्रयोग गरेर जबरजस्ती नेतृत्व घोषणा गरियो, हामी यो अवैध प्रक्रियालाई मान्दैनौँ।
थापा पक्षले निर्वाचनको निष्पक्षता माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष उजुरीसमेत गरेका थिए। देउवाले मतपरिणाम स्थगित गर्न निर्देशन दिए पनि निर्वाचन समितिले एकलौटी रूपमा निर्णय लिएको आरोप उनीहरूको छ।
समानान्तर समिति घोषणा कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, गुरुराज घिमिरेलगायतको उपस्थिति थियो। यो घटनाले कांग्रेसभित्र शेखर कोइराला र गगन थापा समूहबीचको विभाजन झन् गहिरिएको संकेत गरेको छ।




