राजनीति

परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छिन् । आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे । उहाँ ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ लागेकी हुन् । सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा (Voyage to New Horizons of Maritime Partnership) मुख्य विषय राखिएको उक्त सम्मेलनमा मन्त्री डा राणाले नेपालका तर्फबाट सहभागिता जनाउनुहुने छ ।

साथै मन्त्री डा राणाले यस सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने (Amplifying the Voice of Global South) सम्बन्धी सत्रलाई सम्बोधन गर्नुहुने छ । यस भ्रमणका क्रममा मन्त्री डा राणाले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । यस भ्रमणका क्रममा आपसी सहयोगका विभिन्न क्षेत्रहरूका केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ । परराष्ट्रमन्त्री डा राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (जिसीसी) मा आबद्ध राष्ट्रहरुमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि रहेको छ । उहाँ यही फेब्रुअरी २० मा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *