राजनीति

अर्थमन्त्री महत र चीनका अर्थमन्त्री कुनबीच भारतमा भेटवार्ता, के भो कुराकानी ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र चीनका अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा जारी जी–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।

वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका विविध विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री महतले चीनले नेपालको विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

सन् २०१९ मा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणका क्रममा उनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै कोभिडका कारण त्यस्ता आयोजना समयमा अघि बढ्न नसकेकामा अब चाँडै अघि बढ्ने विश्वास पनि त्यस वार्ताका क्रममा दुवै पक्षले व्यक्त गरेको थियो ।

चिनियाँ अर्थमन्त्री लिउले नेपालको विकासका क्षेत्रमा चीन सदैव सहयोगी हुन चाहेको उल्लेख गर्दै दुई देशबीचका सहयोग परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *