काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ ।
आयोगले निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो । विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदललाई ७ दिनको समय दिइएको छ ।
कार्यदललाई विद्युतीय भोटिङ मेसिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।




