देश

रत्न राज्यलक्ष्मी क्याम्पसको ६५औं वार्षिकोत्सवः क्याम्पसलाई भौतिक र गुणात्मक दुवै पक्षमा मजबुत बनाउनुपर्नेमा जोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसले आफ्नो ६५औं वार्षिकोत्सव भव्य कार्यक्रमकाबीच सम्पन्न गरेको छ। क्याम्पस प्रमुख डा. पद्म कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसलाई भौतिक र गुणात्मक दुवै पक्षमा मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले गुणस्तरीय शिक्षालाई संस्थागत बनाउन आवश्यक पहल गर्नुपर्ने सुझावसमेत दिए ।

विशिष्ट अतिथि मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. दुविनन्द ढकालले क्याम्पसले माग गरेका नयाँ विषयहरूलाई आवश्यक अध्ययनपछि निर्णय गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र शिवाकोटी, पूर्व क्याम्पस प्रमुखहरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी संगठनका प्रतिनिधिहरू तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा दीर्घ सेवापश्चात योगदान पुर्‍याएका प्राध्यापक र कर्मचारीलाई सम्मान गरिएको थियो। साथै, उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो। क्याम्पस दिवसकै अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विजयी विद्यार्थी टोलीलाई पनि सम्मान गरियो।

संगीत विभागका विद्यार्थीहरूले प्रस्तुत गरेको सांगीतिक कार्यक्रमले वातावरण झनै उल्लासपूर्ण बनेको थियो। कार्यक्रम दिवा सत्रका सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद आचार्यले सञ्चालन गरेका थिए भने स्वागत सन्ध्याकालीन सत्रका सहायक क्याम्पस प्रमुख डा. विष्णु प्रसाद ज्ञवालीले गरेका थिए ।

क्याम्पस दिवसको अवसरमा २०८२ भदौ ५ गते क्याम्पस स्थानीय बिदा रहने भएकाले पठनपाठन तथा प्रशासनिक काम बन्द रहने जनाइएको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *