देश

नेपालमा पहिलोपटक ‘राष्ट्रिय स्ट्रोक उपचार प्रोटोकल’ लागू, गोल्डेन आवरमा उपचार सुनिश्चित गर्ने लक्ष्य

काठमाडौं । स्ट्रोक (मस्तिष्कघात) उपचारलाई समयमै, एकरूप र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल, २०८२’ स्वीकृत गरेको छ। मन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयसँगै यो प्रोटोकल आज लागू भएको हो।

यस प्रोटोकलले गाउँको स्वास्थ्य चौकीदेखि विशिष्टीकृत अस्पतालसम्म स्ट्रोक उपचारमा तहगत समन्वय, प्रमाणमा आधारित पद्धति र ‘गोल्डेन आवर’ अर्थात् पहिलो केही घण्टाभित्र उपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार, स्ट्रोक नेपालमा मृत्यु र दीर्घकालीन अपाङ्गताको प्रमुख कारण बनेको छ। नयाँ प्रोटोकलले हरेक तहमा स्पष्ट मार्गनिर्देशन प्रदान गरी उपचारमा ढिलाइ, असमान पद्धति र कमजोर पुनर्स्थापना सेवाजस्ता पुराना समस्यालाई समाधान गर्नेछ।

यो मार्गदर्शनमा आकस्मिक व्यवस्थापन, औषधि उपचार, शल्यक्रिया र पुनर्स्थापना सबै समेटिएका छन्। मन्त्रालयले यसका लागि आवश्यक पूर्वाधार निर्माण र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ।

यदि प्रभावकारी रूपमा कार्यान्वयन भयो भने, यो प्रोटोकलले नेपालमा स्ट्रोक उपचारको गुणस्तरमा उल्लेखनीय सुधार ल्याई हजारौंको जीवन बचाउन सक्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *