काठमाडौँ । संसद बैठकमा विपक्षी दलहरु कुलमान घिसिङलाई हटाएको विषयमा एक ठाउमा उभिएका छन् ।
संसद बैठक शुरु हुनासाथ विपक्षी दलहरुले उठेर विरोध गरेपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले बोलेका थिए । बस्नेतले संसदमा बोल्दै सरकारको औचित्य सकिएको भन्दै इमान्दार कर्मचारीलाई अपमानजनक तरिकाले हटाइएको आरोप लगाएका थिए ।
बस्नेतले कुलमानले लोडसेडिङ अन्त्य गरेको, प्राधिकरणलाई नाफामा लागेको र बंगलादेशमा विद्युत निर्यात शुरु गरेको उल्लेख गर्दै सरकारले कुशल व्यास्थापकलाई पुरस्कृत गर्नुपर्नेमा अपमानित गरेको आरोप लगाए । हुकुमी आदेश नमानेको कारण कुलमानलाई हटाइएको आरोप लगाउदै नेता बस्नेतले हुकुमी आदेश पालना लोकतन्त्रमा नहुने स्पष्ट गरे ।
बस्नेतले सरकारले कुलमानलाई हटाउने निर्णय फिर्ता लिन माग गर्दै संसदमा प्रधानमन्त्रीले जानकारी गराउन माग गरेका छन् ।
माओवादी केन्द्रका सांसद बस्नेतले प्रधानमन्त्रीले यस विषयमा संसदमा जवाफ नदिएसम्म संसद बैठक संचालन गर्न नदिने भन्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् ।




