देश

रत्नराज्यलक्ष्मी क्याम्पसद्धारा स्ववियु निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसले स्थगित स्ववियु निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। क्याम्पसले बिहीबार एक विज्ञप्ती जारी स्ववियु निर्वाचन स्थगित हुुनुका कारणबारे छलफल गरेर समस्या समाधानका लागि शुक्रबार मध्यान्ह १२ बजेका लागि सर्बदलीय बैठक बोलाएको हो ।

स्ववियु निर्वाचन समिति २०८१ का संयोजक महेश भट्टराई र सदस्य सचिव लिला प्रसाद लिम्बुले जारी गरेको विज्ञप्तीमा सर्बदलीय बैठक २०८१ चैत ८ गते, दिउँसो १२ बजे क्याम्पसको पत्रकारिता हलमा बस्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

उक्त बैठकमा स्ववियु निर्वाचनमा संलग्न सबै संघ, संगठन र समूहका प्रतिनिधिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। स्ववियु निर्वाचन २०८१ चैत ५ गते सम्पन्न हुने तय गरिएको थियो, तर विभिन्न कारणले स्थगन भएपछि यसबारे थप छलफल गर्न बैठक बोलाइएको क्याम्पस प्रशासनले जनाएको छ। सत्तारुढ एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले सो क्याम्पसमा स्ववियु निर्वाचन रोक्न माग गर्दै चुनावको अघिल्लो दिन मध्यराती तालाबन्दी गरेपछि सो क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको थियो ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले विज्ञप्ति जारी गरी क्याम्पसमा तालाबन्दी गरेको थियो । यस विषयमा निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै उनीहरुले त्यसो नभएका खण्डमा उत्पन्न परिस्थितिको जवाफदेही क्याम्पस प्रशासन हुनुपर्ने चेतावनी दिएका थिए। आरआर क्याम्पसलाई परम्परागत रुपमा अनेरास्ववियुको गढ मानिन्छ ।

अर्कोतर्फ नेविसंघले भने चुनाव हार्ने डरले अनेरास्ववियुले मध्यरातमा तालाबन्दी गरेको आरोप लगाएको थियो । रत्नराज्य लक्ष्मी क्याम्पस आरआर क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन समेत गरेको थियो ।  यस्तै अखिल क्रान्तिकारी स्ववियुका उम्मेदवारहरुले आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध स्वरुप मतदान गरेका थिए । चुनाव गराउन माग राखेर सांकेतिक विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरिएको थियो ।

आरआर क्याम्पसमा मध्यरातमा अनेरास्ववियुको तालाबन्दी,पार्दर्शी निर्वाचन गराउन माग

रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचनमा अवरोध, नेविसंघको कडा आपत्ति

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *