, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराईले विहीबार राति दिवंगत भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको स्मरण गरेका छन् । उनले भारतको राजनीति वृतमा पु¥याएको योगदानको प्रशंसा गर्दै डा. भट्टराईले सिंहप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
‘भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको दुस्खद् निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको छ ।’ शुक्रबार बिहान एक शोक सन्देश सार्वजनिक गर्दै उनले भनेका छन्, ‘निजी रूपमा मैले एक विलक्षण बौद्धिक तथा सहृदयी अग्रज मित्र गुमाएको छु ।’
शोक सन्देशमा भट्टराईले आफ्नो प्रधानमन्त्रीकालमा भारतसँग भएको बिप्पा सम्झौतासँग तत्कालीन प्रधानमन्त्री सिंहसँगको निजी सम्बन्धको भूमिका बारे समेत उल्लख गरेका छन् । ‘नेपालको प्रधानमन्त्रीको रूपमा मैले सन् २०११ अक्टोबर २०(२३ मा गरेको भारतको औपचारिक भ्रमणको क्रममा उहाँसँगको गम्भीर वार्तापछि भएका बिप्पा सम्झौता, ईपीपी बारे सहमति, प्राविधिक कारणले पछि नेपालमै हस्ताक्षर भएको दोहोरो कर मुक्तिको सम्झौता डीटीएए आदि नेपाल(भारत सम्बन्धका महत्वपूर्ण कोसेढुंगाको रूपमा रहिरहनेछन्’, उनले भनेका छन् ।
भट्टराईले सिंहसँग जोडिएको सार्कका प्रसंगहरू पनि उल्लेख गरेका छन् । ‘ शान्त र गम्भीर मुद्रामा विश्व र नेपाल–भारत द्विपक्षीय आर्थिक विकास र साझेदारी विषकायमा गहन विमर्श हुने गरेको म कहिल्यै बिर्सन सक्दिनँ’ उनले भनेका छन्, ‘विशेषत ः १७औं सार्क सम्मेलनमा सन् २०११ नोभेम्बर १०–११ मा माल्दिभ्समा भेट हुँदा दक्षिण एशियाली देशहरूबीच बहुपक्षीय कनेक्टिभिटी बढाउने र अन्ततस् खुला बजारक्षेत्र बनाउनेबारे उहाँ र पाकिस्तानी प्रधानमन्त्री युसुफ गिलानीसँग भएको कुरा सम्झना हुन्छ।’
भट्टराईले ठट्टैठट्टामा दुवै जनाको अगाडि भारत र पाकिस्तानको सम्बन्ध कस्तो रहन्छ भन्ने कुराले नै सार्कको भविष्य तय गर्ने बताएको पनि स्मरण गरेका छन् । ‘‘ तपाईंहरूले राम्रो बनाउन मिहिनेत गर्नोस् सार्कका बाँकी हामी सबैले सघाउँछौं भनेको तर सार्क अहिले मृतप्रायः भएको देख्दा पीडाबोध हुन्छ’, उनले भनेका छन् ।
डा. मनमोहन सिंह र बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनासँग सन् २०१२ अगस्त ३०–३१ मा इरानको राजधानी तेहरानमा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनको क्रममा भेट हुँदा नेपालको जलविद्युत् भारत हुँदै बंगलादेश निर्यात गर्ने बारे गम्भीर कुराकानी भएको र उनीहरू दुवै सकारात्मक रहेको विशेष सम्झना पनि भट्टराईले गरेका छन् ।
‘पछिल्लो पटक केही वर्ष पहिले दिल्लीमा भेट हुँदा हामी दुवै सत्ता बाहिर थियौं, अन्तरंग कुराकानी भयो’ भट्टराईले लेखेका छन्, ‘कुरैकुरामा थाहा लाग्यो मेरा जेएनयूका गुरुहरू प्रो. जीएस भल्ल, प्रो. जीके चाद्धा उनका निकट मित्रहरू हुनुहुँदोरहेछ र उहाँहरूबाटै उहाँले मबारे सबै जानकारी पहिल्यै पाइसक्नुभएको रहेछ’ भट्टराईले भनेका छन्, ‘निजी सम्बन्धले पनि दुईदेशीय सम्बन्धमा कस्तो असर पार्दोरहेछ भन्ने नजिकबाट अनुभूति भयो।’ भट्टराईले सिंहलाई असल र महान् व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।




