
काठमाडौँ। मुलुकको विकासमा महत्त्वपूर्ण मानिएको ६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणले गति लिन थालेको छ। आयोजना संञ्चालनका लागि महत्त्वपूर्ण कोशे ढुङ्गा मानिएको १ सय ५० मिटर लामो “भोजे पक्की पुल“ निर्माणका लागि फेवा कन्स्ट्रक्सन–सुन्दर जेभीसँग रु. २२ करोड ८३ लाखमा ठेक्का सम्झौता गरिएको छ ।
आयोजना प्रमुख विमल गुरुङका अनुसार यसको निर्माण अवधि डिजाइन र वातावरणीय अध्ययनसहित ३ वर्षको हुने छ । आयोजनाको मुख्य बाँध निर्माणको लागि अपरिहार्य मानिएको यो पुल रबुवा बजारभन्दा दक्षिणमा आयोजनाको प्रस्तावित मुख्य बाँधभन्दा करिब साँढे दुइ किलोमिटर दक्षिणमा पर्दछ ।
२०७४ सालमा निर्माण सम्पन्न भएको जयरामबाट पुलभन्दा उत्तर दुधकोशी नदीमा अर्को पक्की पुल निर्माण नभएको अवस्थामा बन्न लागेको बोझे पुल भविष्यमा मध्य पहाडी राजमार्गको हिस्सा समेत बन्ने छ ।
यस पुलले दुइटा जिल्लाहरू ओखलढुङ्गा र खोटाङलाई मात्र होइन, सभ्यता, वातावरण र संस्कृतिलाई समेत जोड्नेछ । यस पुलको निर्माणबाट खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजार र ओखलढुङ्गा जिल्लाको सदरमुकाम ओखलढुङ्गा बजार बिचको वर्तमान सडक दूरीलाई करिब ३३ कि.मि. ले छोट्याउनेछ ।
आयोजना प्रमुखमा गुरुङ आउनु अघि यही स्थानमा करिब ५६ करोड रुपैयाँ रकम लागतको ३ सय ६० मिटर लामो पुल डिजाइन गरिएको थियो। गुरुङको सक्रियतामा आधा मूल्य भन्दा कम लागतमा पुल निर्माण हुन लागेको हो । यसले नेपालका आयोजनाहरूमा गहन अध्ययन विना डिजाइन हुने गरेको समेत देखिएको छ। यसबारेमा गुरुङले चार वर्ष अघिको त्यो डिजाइन हेरेर आफू समेत छक्क परेको बताउनुभयो ।
‘आजभन्दा ४ वर्ष अघिको लागत अनुमान) को पुलको डिजाइन गरिएको रहेछ । म त छक्क परेँ! त्यति लामो पुल त तराईमा मात्र चाहिन्छ । मैले यसो हेर्दै जाँदा १५०÷१६० मिटरभन्दा त लामो हुने देख्दै देख्दिनँ’ उहाँको भनाई छ ।
उहाँले भन्नुभयो परामर्शदाता कम्पनी चेस्को मार्फत यसको डिजाइन गरायौ । अन्तिममा १सय ५० मिटरको पुल भए पुग्ने देखियो । २०८०÷८१ को मूल्यअनुसार करिब २५ करोडको लागत अनुमान निस्क्यो’ ।
उहाँका अनुसार प्रतिस्पर्धात्मक बोलपत्रमा करिब ९% घट्दा आजको मूल्यमा यो पुल करिब २३ करोडमा बन्ने देखिएको छ । ४ वर्षअघिको ५६ करोडको पुल अहिले २३ करोडमा सम्झौता गरिएको छ गुरुङले बताउनुभयो ।
त्यस्तै, लामिडाँडामा आयोजनाको कार्यालय भवन र कर्मचारीहरू बस्न आवासहरूको निर्माणको लागि अर्को निर्माण व्यवसायी पी.एस.÷महावीर÷योजन–जे.भि सँग पनि रु. २ करोड ११ लाखमा ९ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
दुधकोशी आयोजनामा मुआब्जाको बिषय भने टुंगो लाग्न सकेको छैन। यस अघिको नेतृत्वले समय नभईकन जग्गा रोक्का राख्ने निर्णय गरेको तथ्य अहिले आएर खुल्दै गएको छ। गर्नुपर्ने काम नगर्ने र गर्नुपर्ने काम हतारमा गरेकाले पनि कतिपय अवस्थामा समस्या देखिएको छ।