काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर सत्ता–प्रतिपक्षबीच चर्किएको विवादका कारण प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार अवरोध गरेपछि बैठक अघि बढ्न सकेन ।
प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जवाफ दिन अघि सारिएपछि विपक्षी सांसदहरूले त्यसप्रति कडा आपत्ति जनाएका थिए । उनीहरूले प्रधानमन्त्रीकै अनुपस्थितिमा नीति तथा कार्यक्रममाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका थिए ।
बैठक सञ्चालनका लागि सभामुख डीपी अर्यालले पटक–पटक आग्रह गरे पनि विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेनन् । त्यसपछि सभामुखले प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
सभामुख अर्यालले संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने जानकारी पनि दिएका छन् । आज दिनभर पटक–पटक बैठक सञ्चालनको प्रयास भए पनि प्रधानमन्त्रीको उपस्थितिलाई लिएर सहमति जुट्न नसक्दा संसद्को नियमित कार्यसूची प्रभावित बनेको छ । विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रमबारे अन्तिम जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने संसदीय अभ्यास रहेको दाबी गरिरहेका छन् ।




