देश

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी वर्तमान सरकारको भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए ।

प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई केही व्यक्तिहरूले गलत रूपमा प्रस्तुत गर्ने प्रयास गरेको भन्दै त्यसप्रति असन्तुष्टि जनाए ।

उनले भने, “मैले तपाईँहरूलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्ति प्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईँहरूको जिम्मेवारी हो।”

पूर्वप्रधानमन्त्री दाहालले नयाँ संसद्लाई आफूले क्रान्तिकै निरन्तरता ठानेको उल्लेख गर्दै समावेशी प्रतिनिधित्वलाई ठूलो उपलब्धि भएको टिप्पणी गरे ।

उनले पुराना र नयाँ दलको बहसलाई अस्वीकार गर्दै ‘पुरानो वा नयाँ’ भन्दा पनि ‘सही र गलत’ बीचको बहस महत्त्वपूर्ण हुने धारणा राखे ।

विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको सहकार्य स्मरण गर्दै उनले सुशासन, सेवा प्रवाह सुधार, मेरिटोक्रेसी, ललिता निवास जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणजस्ता विषयमा काम गरिएको दाबी गरे ।

सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले हालको सरकारले सार्वजनिक गरेको रोडम्यापले अपेक्षित ‘स्पिरिट’ समेट्न नसकेको बताए ।

उनले मधेसका मुद्दाप्रति नीति तथा कार्यक्रम मौन रहेको आरोपसमेत लगाए ।

त्यसैगरी, उनले सरकारमाथि ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेपको आरोप लगाउँदै विधि मिचेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति गलत भएको बताए ।

प्रचण्डले प्रेस स्वतन्त्रताको सम्मान गर्दै प्रश्नहरूको जवाफ दिएर मात्र लोकतन्त्र सुदृढ हुने उल्लेख गरे ।

उनले समावेशी सहिदहरूको बलिदानबाट बनेको वर्तमान संसद् सबै वर्ग, समुदाय र लिङ्गको प्रतिनिधित्व गर्ने ‘इन्द्रेणी संसद्’ भएको टिप्पणी पनि गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *