सम-सामयिक

संस्कार, संस्कृतिको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारणसभामा मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गति अन्त्य र संस्कृति जगेर्ना गर्न नयाँ पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिएकी हुन् ।

‘व्यवस्था परिवर्तनका लागि जसरी हामी एकजुट भयौँ, सोहीअनुसार व्यवस्था सुदृढीकरणका लागि सबै निष्ठापूर्वक लाग्नुपर्ने जरुरी छ । समाजका विकृति, विसङ्गती हटाई संस्कार, संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ’, उनले भनिन् ।

समाजका हरेक क्षेत्रमा पहुँच र शक्तिवालाको बोलवाला चलेको उल्लेख गर्दै मन्त्री शर्माले रीति, थिति र अनुशासन कायम गर्न युवाको भूमिका रहनुपर्ने बताइन् । ‘पहुँचमा रहेकाहरू माथि पुग्ने र निष्ठापूर्वक काम गर्ने पछाडि पर्ने स्थिति छ । यसलाई तोड्नु चुनौतीको विषय हो । यस्तो चुनौती चिर्नका लागि अग्रज व्यक्तिले विगतमा निर्वाह गरेका भूमिका र संस्कार नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्न जरुरी छ’, मन्त्री शर्माले भनिन् ।

उक्त कार्यक्रममा मध्यमाञ्चल साहित्यिक परिषद्का वरिष्ठ उपाध्यक्ष समिर शाहले देशको कला, संस्कृतिलाई जगेर्ना गर्न परिषद्ले अझ सशक्त भूमिका निर्वाह गर्ने बताए । विसं २०५१ मा स्थापित परिषद्ले पुराना प्रतिभालाई संरक्षण गर्ने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *