काठमाडौँ । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले बाढी–पहिरो, डुबान, मानवअधिकार, सुकुम्बासी व्यवस्थापन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधारलगायत विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसद राजेशकुमार चौधरीले रौतहट जिल्लामा प्रत्येक वर्ष हुने डुबान र क्षतिबाट करोडौँ नोक्सानी हुने भन्दै दीर्घकालीन रोकथामका लागि तत्काल पहल गर्न आग्रह गरे ।
सांसद राधिका रम्तेलले सुर्खेतकी १६ वर्षीया एनिसा विकको बलात्कारपछि हत्या र सिन्धुलीका श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको मृत्यु घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै कमजोर तथा दलित नागरिकले राज्यबाट सुरक्षा नपाएको आरोप लगाइन् ।
सांसद रामविनोद यादवले धनुषा क्षेत्र नं. २ मा कमला नदीको कटान, डुबान तथा शिक्षा–स्वास्थ्य सेवाको अभावबारे सरकारको ध्यानाकर्षण गराए ।
सांसद रिगला यादवले तयारीबिना सुकुम्बासी बस्ती हटाउने कार्य रोक्न र उनीहरूलाई उचित बासस्थानको ग्यारेन्टी गर्न माग गरे ।
सांसद रिमा विश्वकर्माले सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको हिरासत मृत्यु घटनामा न्याय नपाएको भन्दै राज्यको जवाफदेहिता माग गरिन् ।
सांसद रुपेस रञ्जितले भक्तपुरमा मापदण्डविपरीत सञ्चालनमा रहेका इँटाभट्टा तत्काल बन्द गर्न र खोप विश्वविद्यालय तथा वीर अस्पताल निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद रुविना आचार्यले आवश्यकताका आधारमा बजेट विनियोजन गर्न र बाढी–पहिरो जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिइन् ।
सांसद रेखाकुमारी यादवले सुकुम्बासी बस्ती हटाउँदा उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
त्यस्तै सांसद विदुषी राणाले उद्योग–उत्पादन प्रवर्द्धनका लागि ढुवानी र सडक पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने बताइन् भने सांसद बिना गुरुङले फेवाताल संरक्षण, मुआब्जा तथा जलारी समुदायको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।
सांसदहरूले वर्षायाम नजिकिँदै गर्दा विपद् व्यवस्थापन, सामाजिक न्याय र विकास पूर्वाधारलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् ।




