नेपालगञ्ज (बाँके)। करिब छ महिनादेखि बन्द रहेको बाँकेको खजुरा गाउँपालिका–४ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनःसञ्चालनमा आएको छ।
अस्पतालमा जडान गरिएका लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकिथेरापी मेसिन मर्मतपछि सञ्चालनमा ल्याइएपछि क्यान्सरका बिरामीले लामो समयदेखि भोग्दै आएको उपचारसम्बन्धी समस्या कम हुने भएको छ।
रेडियोथेरापी सेवा बन्द हुँदा क्यान्सरका धेरै बिरामी उपचारका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतामा थिए। बिग्रिएका उपकरण मर्मत गरी सेवा पुनःसञ्चालनमा ल्याइएपछि अस्पतालबाटै नियमित रेडियोथेरापी उपचार लिन सकिने अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार लामो समयदेखि सञ्चालनमा आउन नसकेका लिन्याक र ब्रेकिथेरापी मेसिनको आवश्यक मर्मतपछि यसै सातादेखि दुवै उपकरण सञ्चालनमा ल्याइएको हो।
“क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि हो। उपकरणमा आएको प्राविधिक समस्याका कारण लामो समय सेवा प्रभावित भए पनि मर्मतपछि अहिले सेवा पुनःसञ्चालनमा आएको छ,” उहाँले बताउनुभयो।
लिन्याक उपकरणले क्यान्सर प्रभावित भागमा आवश्यक मात्रामा विकिरण केन्द्रित गरी उपचार गर्न सहयोग गर्छ। यसबाट शरीरको प्रभावित भागमा लक्षित रूपमा विकिरण दिइने भएकाले क्यान्सर उपचारमा यसको महत्वपूर्ण भूमिका हुन्छ।
त्यस्तै, ब्रेकिथेरापीमा प्रभावित स्थानको नजिकै विकिरणका स्रोत राखेर उपचार गरिन्छ। दुवै प्रविधि क्यान्सरका विभिन्न अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने भएकाले उपकरण सञ्चालनमा आउनुलाई अस्पतालले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको अस्पतालका निर्देशक डा. नीरज भट्टराईले बताउनुभयो।
उहाँका अनुसार रेडियोथेरापीका दुवै उपकरण सञ्चालनमा आएपछि बिरामीलाई उपचारका लागि अन्य अस्पतालमा जानुपर्ने अवस्था धेरै हदसम्म अन्त्य भएको छ। पछिल्लो समय उक्त अस्पताल पश्चिम नेपालका क्यान्सर बिरामीका लागि उपचारको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ।
अस्पतालमा रेडियोथेरापीबाहेक किमोथेरापी, क्यान्सरसम्बन्धी शल्यक्रिया, सिटी स्क्यान, म्यामोग्राफी तथा भिडियो एक्सरेलगायतका सेवा उपलब्ध छन्। गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि सघन उपचार कक्ष, भेन्टिलेटर तथा निरन्तर निगरानीको व्यवस्था रहेको अस्पतालले जनाएको छ।
विभिन्न प्रकारका परीक्षण तथा उपचार सेवा एउटै अस्पतालबाट उपलब्ध हुन थालेपछि बाँकेसहित पश्चिम नेपालका अन्य जिल्लाका बिरामीलाई उपचारमा सहजता भएको अस्पतालको भनाइ छ।
रेडियोथेरापी सेवा लामो समय बन्द हुँदा उपचारका लागि आउने बिरामीले थप खर्च, समय र आवतजावतको समस्या झेल्दै आएका थिए। दुवै उपकरण सञ्चालनमा आएपछि बाहिरी जिल्लाबाट खजुरा आउने क्यान्सरका बिरामीलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
सूचना अधिकारी डा. गुप्ताका अनुसार रेडियोथेरापी सेवा पुनःसञ्चालनमा आएसँगै अब क्यान्सरका बिरामीलाई उपचारका लागि काठमाडौं, भक्तपुर, चितवन र भरतपुर जानुपर्ने बाध्यता कम हुने भएको छ।




