काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर उत्पन्न विवादपछि अवरुद्ध भएको बैठक सञ्चालनका लागि सभामुख डोलप्रसाद अर्यालले दलहरूबीच सहमति जुटाउने प्रयास थालेका छन् ।
सदनको गतिरोध अन्त्य गर्न सभामुख अर्यालले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल सुरु गरेका हुन् । संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका थिए ।
बैठकका क्रममा सभामुखले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्ताव प्रस्तुत गर्न समय दिएपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए । उनीहरूले प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म प्रक्रिया अघि बढ्न नदिने अडान राख्दै विरोध जनाएका थिए ।
विपक्षीको नाराबाजी र लगातारको अवरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि संसद्को गतिरोध अन्त्य गर्न दलहरूसँग अनौपचारिक परामर्श सुरु गरिएको हो ।
विपक्षी दलहरूको भनाइमा सरकारको नीति तथा कार्यक्रममाथिको अन्तिम जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने संसदीय अभ्यास र राजनीतिक दायित्व हो । यता सत्तापक्षले भने नियमावलीअनुसार प्रधानमन्त्रीले तोकेको मन्त्रीले पनि छलफलमा भाग लिन र जवाफ दिन सक्ने तर्क गर्दै आएको छ ।
प्रधानमन्त्रीको लगातार अनुपस्थितिलाई लिएर संसद्मा सत्ता–प्रतिपक्षबीचको टकराव बढ्दै जाँदा बैठक कहिले सुचारु हुन्छ भन्ने अझै अन्योलमै रहेको छ ।




