देश

रास्वपा ‘अस्थायी गठजोड’ भएको बादलको टिप्पणी

काठमाडौं । रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति कडा आलोचना गर्दै त्यसलाई “अराजक जमातहरूको अस्थायी गठजोड” भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपाको राजनीतिक आधार, विचारधारा र व्यवहारमाथि प्रश्न उठाएका हुन्।

बादलका अनुसार रास्वपा कुनै सुसंगत, वैज्ञानिक वा दीर्घकालीन राजनीतिक दर्शनमा आधारित दल होइन। बरु आकस्मिक रूपमा उदाएको, अत्यधिक महत्वाकांक्षी समूहहरूको अस्थायी संयोजन मात्र भएको उनको दाबी छ।

उनले रास्वपाको वैचारिक आधारलाई “सारसंग्रहवाद र लोकप्रियतावादको मिश्रण” भन्दै आलोचना गरे। यस्तो राजनीतिक संरचना दीर्घकालमा स्थायित्व दिन नसक्ने र केवल तत्कालीन आकर्षणमा टिक्ने उनले बताए।

बादलले रास्वपाको कार्यशैलीलाई अवसरवादी र अस्थिर प्रवृत्तिको संज्ञा दिँदै बाहिरबाट आकर्षक देखिए पनि भित्री रूपमा त्यसले दीर्घकालीन राजनीतिक परिणाममा नकारात्मक असर पार्ने टिप्पणी गरे।

उनका अनुसार यस्तो राजनीतिक अभ्यास “ग्ल्यामर र स्टन्टमा आधारित आकर्षक देखिने तर सारमा कमजोर” हुन्छ, जसले जनतामा भ्रम सिर्जना गर्ने खतरा हुन्छ। प्रतिनिधिसभामा गरिएको उक्त टिप्पणीसँगै रास्वपाको वैचारिक आधार र संगठनात्मक स्थायित्वबारे पुनः राजनीतिक बहस चुलिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *