समाचार

मुख्य समाचार : सभामुख चयन बिहिबार हुँदै, राष्ट्रपति चुनावसम्म सत्ता गठबन्धनभित्र मतभेद बढ्ने संकेत

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखका लागि मतदान हुँदैछ । सभामुख निर्वाचनमा कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको सभामुखका लागि न्यौपानेले कांग्रेस र नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ । बुधबारको मन्त्रिपरिषदमा विभूषण तथा पदक वितरणका विषयमा छलफल भएको थियो । सो क्रममा हालसम्म हुँदै आएको पदक वितरण उचित नभएको भन्दै आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी भएको हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनका अनुसार नेपाली कांग्रेसले तोकेको व्यक्ति नै राष्टपति बन्ने भएका छन् ।

मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेदवारी दिएकी छन् । नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एसका प्रकाश ज्वाला रहेका छन् ।

प्रतिनिधि सभाको सभामुखका उम्मेदवार देवराज घिमिरेले निष्पक्ष ढंगले सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् । बुधबार उम्मेदवार मनोनयनपछि संसद् भवन अगाडि पत्रकारहरुसँगको कुराकानीमा सांसद सांसद घिमिरेले इमान्दारिता र निष्पक्ष ढंगले जिम्मेवारी निर्वाह गर्ने बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख,उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले खनालको संयोजकत्वमा समिति गठन उक्त गठन गरेको हो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । लामो समयदखि जन्डिस रोगबाट ग्रसित रहेका पुनको ८० प्रतिशत भन्दा बढि कलेजो बिग्रसकेकाले कलेजो प्रत्यारोपन गर्नुपर्ने उनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माले जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङ अध्यक्ष ओली भेट्न बुधबार साँझ बालकोट पुगेका थिए । पुस २४ मा काठमाडौं नेपाल आएका उनले ओहोदाको प्रमाणपत्र बुझाएपछि प्रधानमन्त्री प्रचण्डसँग माघ २ मा भेटन बालुवाटार पुगेका थिए ।

नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न लागिएको हो ।

तालिबानले मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा डकैती र अश्लित कार्यमा दोषी ठहरिएका ९ जनालाई सार्वजनिक रूपमा कोर्रा लगाएका छन् । ‘मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा नौ जनालाई डकैती र अश्लिलताको आरोपमा सजाय दिइएको थियो’, टोलो न्यूजले ट्वीट गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले यसै हप्ताभित्र नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ । आइतबारसम्मको समय दिएर क्यानले आवदेन आह्वान गर्दा ३५ जनाले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका थिए । त्यसबाट ५ जनालाई सट लिस्ट गरेर अन्तर्वार्ताका लागि छनोट गरिएको क्यानले जनाएको छ । अन्तवार्ताका लागि डेभ ह्वाटमोर, मोन्टी देशाई र धम्मिका प्रसाद लगाएत ५ जना रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *